दमकका टोल–टोलमा पुग्दै एमाले अध्यक्ष ओली: यस्तो छ आजको कार्यतालिका
झापा, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर झापाको दमक नगरपालिकाका विभिन्न स्थानमा आयोजना गरिने चुनावी भेटघाट र अन्तरक्रिया कार्यक्रमहरूमा व्यस्त रहने हुनुभएको छ।
आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) अन्तर्गत दमकका मुख्य चोकहरूमा स्थानीय बासिन्दासँग प्रत्यक्ष साक्षात्कार गर्न उहाँ दमकका विभिन्न वडामा पुग्नुहुने कार्यक्रम रहेको छ।
निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीको आजको कार्यतालिका निकै व्यस्त रहेको छ। उहाँले बिहान ११ बजे दमक–५ स्थित यलम्बर चोकबाट भेटघाट कार्यक्रमको सुरुवात गर्नुहुनेछ।
अध्यक्ष ओलीको आजको कार्यतालिका: बिहान ११:०० बजे: यलम्बर चोक (दमक–५) मा भेटघाट।
बिहान ११:५० बजे: शंखधर चोक (दमक–६) मा स्थानीयसँग संवाद।
दिउँसो १:०० बजे: तविन चोक (दमक–७) को कार्यक्रममा सहभागिता।
दिउँसो २:०० बजे: हवल्दार चोक (दमक–१) मा आयोजना गरिएको भेला।
दिउँसो ३:०० बजे: दमक फन पार्क (दमक–२) मा आयोजित अन्तरक्रिया।
बेलुकी ४:०० बजे: आमचोक (दमक–३) पुगेर स्थानीयसँग भेटघाट।
झापा क्षेत्र नं. ५ अन्तर्गतका अन्य पालिकाहरूमा भेटघाट र चुनावी अभियान सम्पन्न गरिसक्नुभएका ओलीले आज विशेष गरी दमक नगरपालिकाका मतदाताहरूको गुनासो सुन्ने र स्थानीय समस्याका विषयमा छलफल गर्ने जनाइएको छ।
भेटघाटका क्रममा स्थानीयले आफ्ना समस्या र अपेक्षालाई सिधै अध्यक्षसमक्ष राख्न पाउनेछन्। आफ्नै टोल र चोकमा पूर्व प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा दमकका बासिन्दाहरू उत्साहित देखिएका छन्। हिजो झापा आइपुग्नुभएका अध्यक्ष ओलीले यहाँको राजनीतिक माहोल र चुनावी तयारीका बारेमा समेत निरन्तर जानकारी लिइरहनुभएको छ।