झापाको बिर्तामोडबाट जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोली बरामद; एक पक्राउ, अर्का फरार
झापा, ४ फागुन । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीबाट ‘जेनजी आन्दोलन’का क्रममा लुटिएको पेस्तोल र ठूलो परिमाणमा गोली प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको अपरेसनका क्रममा प्रहरीले एक थान पेस्तोल र ४० राउन्ड गोली फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार उक्त हतियार र गोलीसहित कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशीलाई पक्राउ गरिएको छ ।
स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो । सो क्रममा घरपछाडि रहेको कुखुराको खोरभित्र एउटा प्लास्टिकको ड्रममा लुकाई–छिपाई राखिएको अवस्थामा ९ एमएम (9mm) को एक थान पेस्तोल र ४० राउन्ड गोली बरामद भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त हतियार तुलबहादुरका २२ वर्षीय छोरा सौगात थापा मगरले लुकाएको खुलेको छ । सौगात भने प्रहरी पुग्नुअघि नै फरार भएकाले उनको खोजीका लागि जिल्लाभरि उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजवंशीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा चलाइने र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।