झापामा रास्वपा नेतासहित युवाहरूको एमाले प्रवेश: अध्यक्ष ओलीले गरे स्वागत

झापा । ४ फागुन । झापा निर्वाचन क्षेत्र नं. ५ मा चुनावी सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासहित विभिन्न दलमा आबद्ध युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

चुनावी अभियानका क्रममा दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदाता भेटघाटका लागि पुग्नुभएका ओलीले दमक फनपार्कमा आयोजित एक विशेष कार्यक्रमका बीच नवप्रवेशीहरूलाई खादा र टीका लगाएर एमालेमा भित्र्याउनुभयो ।

एमाले प्रवेश गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनाल मुख्य हुनुहुन्छ । खनालसँगै विभिन्न राजनीतिक पृष्ठभूमि भएका युवाहरूले पनि एमालेको सदस्यता लिएका छन् । पार्टी प्रवेश गर्दै युवाहरूले मुलुकको राष्ट्रियता रक्षा, तीव्र विकास र सुशासनका लागि एमालेको विकल्प नभएकाले आफूहरू यो अभियानमा जोडिएको बताएका थिए ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहनुभएका अध्यक्ष ओली अहिले मतदातासँगको साक्षात्कारमा व्यस्त हुनुहुन्छ । उहाँले दोस्रो चरणको भेटघाट कार्यक्रम अन्तर्गत आज दमक नगरपालिका भित्रका विभिन्न वडा र टोलहरूमा पुगेर स्थानीयका गुनासा सुन्नुका साथै पार्टीको एजेण्डा प्रष्ट पार्नुभएको थियो ।

प्रभावशाली स्थानीय नेता र युवाहरूको पार्टी प्रवेशले झापा–५ मा एमालेको साख थप बलियो बनेको सो पार्टीको ठम्याइ छ ।