नागढुङ्गामा कारबाट पेस्तोल र गोलीसहित ३० वर्षीय युवक पक्राउ

काठमाडौँ, ४ फागुन । काठमाडौँको मुख्य प्रवेशद्वार नागढुङ्गामा प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ। चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको कारमा खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएको हो।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका छन्। प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा सवारीसाधनहरूको नियमित जाँच गरिरहेको थियो। सो क्रममा बा १९ च ६९० नम्बरको कारलाई रोकेर जाँच गर्दा पुरीको साथमा रहेको कालो रङ्गको झोलाभित्र हतियार फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पुरीको साथबाट एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरिएको छ।

अवैध हतियार ओसारपसार गरेको आरोपमा पक्राउ परेका पुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। निर्वाचनको मुखमा यसरी राजधानी प्रवेश गर्ने नाकामा हतियार भेटिनुलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ।

पुरीले उक्त हतियार कहाँबाट र कुन प्रयोजनका लागि काठमाडौँ ल्याएका हुन् भन्ने विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ। उनीमाथि ‘हातहतियार तथा खरखजाना’ सम्बन्धी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।