प्रतिनिधिसभा निर्वाचन : मतपत्र छपाइ सम्पन्न, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

भक्तपुर, ५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको छ । मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सोमबार साँझ प्रत्यक्षतर्फका सबै मतपत्र छपाइ सकेको जानकारी दिएको हो ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगले दिएको जिम्मेवारी र समयसीमाभन्दा अगावै छपाइ कार्य पूरा भएको छ । उहाँले भन्नुभयो, “हामीले ४२ दिनको कार्यतालिका लिएर काम सुरु गरेका थियौँ, तर तीव्र गतिमा काम गर्दै ४० दिनमै प्रत्यक्षतर्फका २ करोड ३ लाख थान मतपत्र छाप्न सफल भयौँ ।”

छपाइ सकिएसँगै आज (मंगलबार) देखि मतपत्रको ‘प्याकेजिङ’ र ढुवानी प्रक्रिया सुरु गरिएको छ । प्रबन्ध निर्देशक पौडेलले दुर्गम मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा मतपत्र पुगिसकेको र बाँकी सुगम जिल्लाहरूमा पनि अबको १० दिनभित्र मतपत्र पुर्‍याइसक्ने योजना रहेको जानकारी दिनुभयो ।

केन्द्रले चौबीसै घण्टा मेसिन सञ्चालन गरी दैनिक १३ देखि १५ लाख थान मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि नै १० लाख नमुना मतपत्र र समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकेर जिल्ला–जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।