काठमाडौँको वायु प्रदूषण उच्च विन्दुमा, विश्वकै तेस्रो प्रदूषित सहर
काठमाडौँ, ५ फागुन । काठमाडौँ उपत्यकाको वायु प्रदूषण पुनः अत्यधिक बढेको छ । सोमबारदेखि बिग्रँदै गएको वायुको गुणस्तर आज (मंगलबार) थप खस्किएर काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा परेको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) का अनुसार सोमबार मध्याह्न १७८ रहेको प्रदूषणको मात्रा आज मध्याह्नसम्म बढेर १९१ पुगेको छ । यो स्तर जनस्वास्थ्यका दृष्टिले ‘सबैका लागि अस्वस्थ’ मानिन्छ । एक्युआईको ताजा तथ्याङ्कअनुसार २२९ एक्युआईसहित भारतको दिल्ली पहिलो र २०३ एक्युआईसहित पाकिस्तानको लाहोर दोस्रो प्रदूषित सहर बनेका छन् ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुँदा वायुमण्डलमा धुलोका कणहरू जम्मा भई प्रदूषण बढेको बताउनुभयो । “पानी नपर्दासम्म वायुमण्डलको तल्लो तहमा जम्मा भएको धुलो र प्रदूषित कणहरू हट्ने सम्भावना कम हुन्छ, जसले गर्दा आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने जोखिम छ,” सुवेदीले भन्नुभयो ।
वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा अनियन्त्रित सवारीसाधनको चाप, डिजेल–पेट्रोलको धुवाँ, जताततै भइरहेका सडक तथा पूर्वाधार निर्माणबाट उड्ने धुलो र वन डढेलोका कारण वायुको गुणस्तर खस्किएको हो । उहाँले सुक्खा मौसम लम्बिएकाले समयमै सचेत नभए स्थिति अझ भयावह हुन सक्ने चेतावनी दिनुभयो ।
प्रदूषणको मात्रा १५१ देखि २०० एक्युआई पुग्नुलाई ‘सबैका लागि अस्वस्थ’ मानिन्छ । यो अवस्थाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई गम्भीर असर पुर्याउन सक्छ । विज्ञहरूले घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न र विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ अनुसार एक्युआई ३०० नाघेको अवस्थालाई ‘विपद्’ मानिन्छ । यस्तो अवस्थामा फोहोर बाल्न रोक लगाउने, ब्रुमर र भ्याकुमले सडक सफा गर्ने तथा स्वास्थ्य सङ्कटकालसमेत घोषणा गर्न सकिने व्यवस्था छ । तर, अहिलेको स्तर नै मानव स्वास्थ्यका लागि जोखिमपूर्ण भइसकेको छ ।