काठमाडौँ भित्रिँदै गरेको बसबाट १२ लाख बराबरको चाँदी बरामद, एक जना पक्राउ
काठमाडौँ, ५ फागुन । काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गाबाट प्रहरीले अवैध रूपमा ल्याइएको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकपोष्टमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसबाट ३ किलो चाँदी बरामद गरेको हो ।
नागढुङ्गा प्रहरी प्रभागका अनुसार, बसमा सवार पर्साको फेटा गाउँपालिका–६ का आसु साबको गतिविधि शङ्कास्पद देखिएपछि उनको झोला जाँच गरिएको थियो । सो क्रममा झोलाभित्र लुकाएर ल्याइएको चाँदीका दाना फेला परेको हो ।
बरामद गरिएको चाँदीको बजार मूल्य करिब १२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले पक्राउ परेका व्यक्ति र बरामद चाँदीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।