पश्चिमी वायुको प्रभावले तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ, ६ फागुन । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल तराईका अधिकांश भू-भागमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।

लुम्बिनीसहित सुदूरपश्चिमको तराई र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा भने बिहानीपख लागेको हुस्सु र कुहिरो मध्याह्नसम्म कायम रहन सक्ने देखिएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ । अन्य हिमाली भू-भागमा आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

तराईमा लाग्ने हुस्सु र हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्न सक्ने र दृश्यता कम हुँदा हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।