बङ्गलादेशका प्रधानमन्त्रीद्वारा नेपालमा हुन लागेको निर्वाचनको सफलताको कामना, द्विपक्षीय सहकार्यमा जोड

काठमाडौँ, ६ फागुन । बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गते हुन गइरहेको नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्नुभएको छ । ढाका भ्रमणमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलवार साँझ भएको भेटवार्ताका क्रममा उहाँले यस्तो शुभकामना व्यक्त गर्नुभएको हो ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार भेटमा परराष्ट्रमन्त्री शर्माले नेपालका प्रधानमन्त्री सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश प्रधानमन्त्री रहमानलाई हस्तान्तरण गर्नुभएको थियो । सन्देशमा प्रधानमन्त्री कार्कीले रहमानको कार्यकालको सफलताको कामना गर्दै दुवै देश र जनताको हितका लागि आपसी सम्मान र साझेदारीको भावनाका साथ सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

भेटका अवसरमा मन्त्री शर्माले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा त्यहाँको सरकारको सराहना गर्नुभयो । उहाँले तारिक रहमानको नेतृत्वमा रहेको ‘बङ्गलादेश नेशनलिस्ट पार्टी’ (बीएनपी) ले बहुमत हासिल गरेकोमा नेपाल सरकारका तर्फबाट बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री रहमानले आफ्नो शपथ ग्रहण समारोहमा नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व भएकोमा खुसी व्यक्त गर्दै यसले दुई देशबीचको प्रगाढ सद्भाव र एकतालाई प्रतिबिम्बित गरेको बताउनुभयो ।

प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माबीच भएको वार्तामा नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

ढाका बसाइका क्रममा परराष्ट्रमन्त्री शर्माले बङ्गलादेश जमात-ए-इस्लामीका नेता शफिकुर रहमानसँग पनि भेटवार्ता गर्नुभएको छ । सो भेटमा दुई देशबीचको आपसी चासो र द्विपक्षीय सहकार्यका विविध पक्षमा विचारविमर्श भएको थियो ।