बङ्गलादेशमा ५० सदस्यीय मन्त्रिपरिषद् विस्तार

ढाका, ६ फागुन । ढाका बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय विशाल मन्त्रिपरिषद् घोषणा गर्नुभएको छ । आम निर्वाचनमा प्राप्त भारी विजयपश्चात प्रधानमन्त्री रहमानले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रलाई गति दिने र क्षेत्रीय एवं आन्तरिक सुरक्षाका चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित नयाँ टोली सार्वजनिक गर्नुभएको हो ।

सन् २०२४ को हिंसात्मक विद्रोहपछि गठित अन्तरिम प्रशासनबाट औपचारिक रूपमा सत्ता सम्हाल्नुभएका रहमानले मङ्गलबार पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को नामावली सार्वजनिक गर्नुभएको थियो । मङ्गलबार राति राजपत्रमा प्रकाशित सूचीअनुसार ७६ वर्षीय अनुभवी राजनीतिज्ञ अमिर खसरु महमुद चौधरीलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । पूर्व वाणिज्य मन्त्री तथा अनुभवी सांसद चौधरी व्यावसायिक पृष्ठभूमिका हुनुहुन्छ । महिनौँको राजनीतिक अस्थिरताका कारण प्रभावित बनेको विश्वको दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक बङ्गलादेशमा लगानीकर्ताको विश्वास पुनः जागृत गराउने मुख्य दायित्व उहाँको काँधमा आएको छ ।

चौधरीले यसअघि प्रधानमन्त्री रहमानकी ममतामयी माता एवं तीन पटककी प्रधानमन्त्री स्वर्गीय खालिदा जियाको कार्यकालमा समेत मन्त्रीका रूपमा कार्य गर्नुभएको थियो । सन् २००४ मा ताइवानलाई ढाकामा व्यावसायिक कार्यालय खोल्न अनुमति दिएको विषय विवादमा परेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । शेख हसिनाको १५ वर्षे कार्यकालमा उहाँले पटक–पटक गिरफ्तारी र राजनीतिक मुद्दाहरूको सामना गर्नुभएको थियो, जसलाई विपक्षीहरूले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएका थिए ।

यसैगरी, प्रधानमन्त्री रहमानले रक्षा मन्त्रालयको कार्यभार आफैँसँग राख्नुभएको छ । वर्षौंदेखिको राजनीतिक ध्रुवीकरणले विभाजित समाजलाई एकताबद्ध बनाउने, सुरक्षा व्यवस्थामा व्यापक सुधार ल्याउने र सीमावर्ती चुनौतीहरूको सामना गर्ने कठिन कार्यभार उहाँसामु छ । भारतसँगको सीमा तनाव र म्यान्माको आन्तरिक द्वन्द्वको बाछिटा बङ्गलादेशको सीमा क्षेत्रमा परिरहेको संवेदनशील समयमा यो नयाँ सरकार गठन भएको हो । हाल बङ्गलादेशमा म्यान्माबाट विस्थापित १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीहरू आश्रित छन् ।

परराष्ट्र मन्त्रालयको कूटनीतिक कमान्ड अनुभवी कूटनीतिज्ञ खलीलुर रहमानलाई दिइएको छ । संयुक्त राष्ट्रसङ्घका पूर्व उच्च अधिकारी रहमानले ढाका र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको छ । कार्यवाहक सरकारको समयमा सुरक्षा विभागको जिम्मेवारी सम्हाल्नुभएका उहाँले अमेरिकासँगको व्यापार वार्तामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । छिमेकी भारतसँगको सम्बन्धमा देखिएको चिसोपन र पाकिस्तानसँग बढ्दो सामीप्यबीच क्षेत्रीय सन्तुलन कायम राख्नु उहाँको प्रमुख चुनौती हुने देखिन्छ । यसैबीच, भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना बङ्गलादेशी समकक्षीलाई बधाई दिँदै द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री रहमानले बुधबार नवनियुक्त मन्त्रिपरिषद्को पहिलो बैठकको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । मन्त्रिपरिषद्मा दिग्गज राजनीतिज्ञ, पूर्वमन्त्री, सांसद, लब्धप्रतिष्ठित शिक्षाविद् तथा विभिन्न दलका कार्यकर्ताहरूको प्रतिनिधित्व रहेको छ । नयाँ सरकारको गठनसँगै बङ्गलादेशमा आर्थिक पुनरुत्थान, सामाजिक सद्भाव र वैदेशिक सम्बन्ध सन्तुलनको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।