सवारी चाप घट्दा काठमाडौँको वायु प्रदूषणमा उल्लेख्य कमी

काठमाडौँ, ६ फागुन । काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमनमा कमी आएसँगै वायु प्रदूषणको स्तरमा उल्लेख्य सुधार देखिएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा परेकाले सडकमा सवारीको चाप कम हुँदा वायुको गुणस्तरमा सुधार आएको हो ।

तुलनात्मक तथ्याङ्कअनुसार, मङ्गलबार दिउँसो १:०० बजे उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) १९१ रेकर्ड गरिएकोमा आज सोही समयमा घटेर ११४ मा झरेको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार मङ्गलबार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा रहेको थियो भने आज १४औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर १९३ एक्युआईसहित पहिलो र सेनेगलको राजधानी डकार १९२ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन् ।

वातावरणविद् भूषण तुलाधारका अनुसार सहरी क्षेत्रको वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको भूमिका प्रमुख रहँदै आएको छ । “सवारीसाधनबाट निस्कने धुवाँले प्रत्यक्ष रूपमा वायुमण्डललाई प्रदूषित बनाउँछ । यसका साथै माघ १ गतेदेखि सञ्चालनमा आएका इँटाभट्टाबाट निस्कने धुवाँ र धुलो पनि प्रदूषणको अर्को मुख्य कारण हो,” उहाँले भन्नुभयो ।

तुलाधारले फोहोर जलाउने प्रवृत्ति र डढेलोको मौसम सुरु हुनुले आगामी दिनमा प्रदूषणको जोखिम झन् बढ्न सक्ने तर्फ सचेत गराउनुभएको छ । यसका लागि समयमै पूर्वतयारी, पातपतिङ्गरको वैज्ञानिक व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र वातावरणीय मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको उहाँको सुझाव छ ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सार्वजनिक बिदाका दिन उपत्यकामा सामान्य दिनको तुलनामा करिब १० प्रतिशतले यातायातको चाप घट्ने गरेको छ । “सवारी साधनका कारण प्रदूषण बढ्ने तथ्य स्थापित नै छ । पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) को सङ्ख्यामा भइरहेको वृद्धिले वायु गुणस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,” उहाँले उल्लेख गर्नुभयो ।

एक्युआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्मको स्तरलाई ‘राम्रो’ (हरियो सङ्केत) र ५१ देखि १०० सम्मलाई ‘सचेत रहनुपर्ने’ (पहेँलो सङ्केत) मानिन्छ । १०१ देखि १५० सम्मको स्तर ‘अस्वस्थ’ श्रेणीमा पर्दछ, जसले विशेषगरी श्वासप्रश्वास र मुटुका रोगीलाई असर पुर्‍याउन सक्छ । यस्तै, १५१ देखि २०० सम्मलाई ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० सम्मलाई ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथिको अङ्कलाई ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० नाघेको अवस्थालाई सरकारले ‘विपद्’का रूपमा लिने व्यवस्था गरेको छ । यस्तो अवस्थामा फोहोर जलाउने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ ले पनि वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो र ध्वनिसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ ।