सप्तरीमा एमालेको झण्डा जलाएको आरोपमा निर्वाचन प्रहरी नै पक्राउ, अनुसन्धान गर्दै प्रहरी
सप्तरी, ९ फागुन । सप्तरीमा नेकपा (एमाले) को निर्वाचन चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाएको आरोपमा एक जना ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) पक्राउ परेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा प्रचारप्रसारका लागि झुण्ड्याइएको झण्डा निकालेर आगो लगाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा महदेवा गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डल रहेका छन्। प्रहरी स्रोतका अनुसार मण्डल आगामी निर्वाचनका लागि भर्ना भएका ‘निर्वाचन प्रहरी’ हुन्।
भगवतपुर चोकमा एमालेका कार्यकर्ताहरूले डोरीमा बाँधेर चुनावी प्रचारका लागि झण्डाहरू झुण्ड्याएका थिए। मण्डलले ती झण्डाहरू निकालेर सार्वजनिक रूपमै आगजनी गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुरक्षाको जिम्मेवारी पाएका व्यक्ति नै राजनीतिक दलको झण्डा जलाउने कार्यमा संलग्न भएपछि स्थानीय स्तरमा राजनीतिक माहौल तातिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर पुरीले घटनाको पुष्टि गर्दै मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो। “हामीले आरोपितलाई पक्राउ गरिसकेका छौँ, घटनाको प्रकृति र उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ,” डीएसपी पुरीले भन्नुभयो।
प्रहरीले यो घटनालाई निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतासँग जोडेर हेरेको छ। पक्राउ परेका मण्डललाई कारबाहीका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र यसबारे विस्तृत जानकारी दिन पत्रकार सम्मेलनको तयारी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।