निर्वाचन सर्ने हल्ला निराधार, मत सर्वेक्षण गरे कारबाही हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, १० फागुन । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने निर्वाचन कुनै पनि बहानामा नसर्ने स्पष्ट पार्दै भ्रामक हल्लाको पछि नलाग्न आम नागरिकलाई आग्रह गरेका छन् । साथै, उनले निर्वाचन आचारसंहिताविपरीत ‘मत सर्वेक्षण’ (ओपिनियन पोल) नगर्न सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई कडा चेतावनी दिएका छन् ।
बिहीबार गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले तोकिएको मितिमै चुनाव हुनेमा ढुक्क हुन आह्वान गरे ।
“केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनेर हल्ला फैलाइरहेका छन्, त्यस्ता गलत सूचनाको पछि नलाग्नुहोला,” उनले भने, “अस्थिरताबाट गुज्रिएको देशलाई पुनः चलायमान बनाउन र आगामी पाँच वर्ष सुशासन कायम गर्न यो निर्वाचन अत्यन्तै महत्त्वपूर्ण छ ।”
आचारसंहिता उल्लङ्घनका उजुरीहरूमाथि आयोगले छानबिन गरिरहेको जानकारी दिँदै भण्डारीले चुनावअघि कसले जित्छ र कसले हार्छ भनी पूर्वानुमान गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।
संविधानको धारा १९ ले दिएको अभिव्यक्ति स्वतन्त्रताको जिकिर गर्दै कतिपय प्रतिष्ठित व्यक्तिहरू नै मत सर्वेक्षणमा लागेको भन्दै उनले सर्वोच्च अदालतले यसअघि गरेका व्याख्या र फैसला अध्ययन गर्न ध्यानाकर्षण गराए । “मत सर्वेक्षणका नाममा यसले जित्छ र उसले हार्छ भनेर लेख्दा मतदाता प्रभावित हुन्छन् । आचारसंहिताभित्र बसेर यस्तो काम गर्न पाइँदैन,” उनले भने ।
कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले वि.सं. २०७९ को भन्दा बढी प्रतिशत मतदान हुने वातावरण बनाउन सञ्चारमाध्यमले मतदाता शिक्षालाई तीव्रता दिनुपर्ने बताए । गोरखापत्रले प्रकाशन गर्ने ४६ वटै भाषामा निर्वाचनसम्बन्धी सामग्री समावेश गर्न उनले सुझाव दिए ।
त्यसैगरी, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले निर्वाचन र मतदाता शिक्षासम्बन्धी जानकारी चुनावका बेला मात्र नभई विद्यालय तहको पाठ्यक्रममै समावेश गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा आयोगका सहसचिव राजेन्द्रकुमार केसीले साक्षरता दर कम भएका प्रदेशहरूमा मत बदर हुने दर उच्च रहेको तथ्याङ्क प्रस्तुत गर्दै सम्बद्ध निकायले बेलैमा ध्यान दिनुपर्ने औँल्याएका थिए ।