काठमाडौँ महानगरद्वारा १० वडाका ५०९ स्थानको मौलिक नाम पहिचान : थप ८ वडामा अध्ययन सुरु

काठमाडौँ,  फागुन १०  ।  काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका टोल, बस्ती र ऐतिहासिक स्थलहरूको प्राचीन एवं मौलिक नाम पहिचान गरी अभिलेखीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । हालसम्म महानगरका १० वटा वडामा गरिएको अध्ययनबाट ५०९ वटा स्थानको मौलिक नाम निश्चित गरिएको छ ।महानगरको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मुख्य नाम र ७९ वटा सहायक नाम पहिचान गरेको हो। यसै सिलसिलामा तेस्रो चरणअन्तर्गत थप ८ वटा वडाको अध्ययनका लागि आज सम्झौता भएको छ ।

तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सायमीको रोहवरमा विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रकी कार्यकारी निर्देशक रिजा जोशीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। यस चरणमा वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानहरूको अध्ययन गरिनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले नाम केवल बोलाउने शब्द मात्र नभई यसले सिङ्गो सभ्यता र इतिहास बोकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक नामको पछाडि इतिहास, संस्कृति र समाजको कथा लुकेको हुन्छ। त्यसैले मौलिक नामको पुनरुत्थान र प्रयोगलाई हलुका रूपमा लिनु हुँदैन ।” उहाँले परिचय पाटी (साइनबोर्ड) राख्दा दृश्य प्रदूषण नहुने गरी उचित स्थानमा राख्न समेत निर्देशन दिनुभयो ।

सम्पदा समितिका संयोजक आशामान सायमीले परिचय पाटीमा प्राचीन र मौलिक नाम मात्र उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो। “एउटै ठाउँका दुईवटा नाम राख्दा मौलिक इतिहास स्थापित गर्न कठिन हुन्छ,” उहाँले इन्द्रचोक (वङ्घ) को उदाहरण दिँदै भन्नुभयो, “अध्ययनबाट प्राप्त तथ्यलाई स्थानीयले अपनत्व ग्रहण गर्ने गरी लिखित प्रमाणका आधारमा स्थापित गरिनुपर्छ ।”

विगतका चरणहरूको उपलब्धि
विभागका अनुसार पहिलो चरणमा वडा नं ५, ६, ७, १८ र २४ तथा दोस्रो चरणमा वडा नं ८, १७, १९, २० र २५ को अध्ययन सम्पन्न भइसकेको छ। अध्ययनका क्रममा टोल, बहाल, बही, मन्दिर, सत्तल र ऐतिहासिक ढुङ्गेधाराहरूको प्राचीन नाम पत्ता लगाउन स्थानीय बासिन्दा, संस्कृतिविद्, भाषाविद् र इतिहासविद्हरूसँग परामर्श गर्ने गरिएको छ।

प्रमुख स्थानका मौलिक नामहरू:

  • वडा नं. ५ (हाँडीगाउँ): प्राचीन नाम ‘नार’ (५२ स्थान पहिचान)

  • वडा नं. ६ (बौद्ध): प्राचीन नाम ‘खस्योर/खास्ती’ (५० स्थान पहिचान)

  • वडा नं. ७ (चाबहिल): प्राचीन नाम ‘चाबही’ (७१ स्थान पहिचान)

  • वडा नं. १८ (नरदेवी): प्राचीन नाम ‘न्येता’ (३६ स्थान पहिचान)

  • वडा नं. २४ (मखन): प्राचीन नाम ‘मखं’ (४९ स्थान पहिचान)

  • वडा नं. १७ (धोबीचौर): प्राचीन नाम ‘येँपिख्या’ (२३ स्थान पहिचान)

  • वडा नं. २० (भिमसेनस्थान): प्राचीन नाम ‘त:’ (४९ स्थान पहिचान)

  • वडा नं. २५ (मासङ्गल्ली): प्राचीन नाम ‘मसां गल्ली’ (७३ स्थान पहिचान)

महानगरले यस अभियानमार्फत काठमाडौँको हराउँदै गएको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई पुनःस्थापित गर्ने लक्ष्य राखेको छ।