प्रतिनिधिसभा निर्वाचन: ९ राजनीतिक दल र १२ सय १३ उम्मेदवारले मात्र खोले बैङ्क खाता

काठमाडौँ, १२ फागुन । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म १ हजार २ सय १३ जनाले मात्र निर्वाचन लक्षित बैङ्क खाता खोलेका छन्।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये उक्त सङ्ख्याले मात्र बैङ्क खाता सञ्चालनमा ल्याएका हुन्।

त्यसैगरी, निर्वाचनमा भाग लिएका ६८ वटा राजनीतिक दलमध्ये हालसम्म जम्मा ९ वटा दलले मात्र यस्तो खाता खोलेको आयोगले जनाएको छ। खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।

निर्वाचनमा दल र उम्मेदवारहरूले प्राप्त गर्ने आर्थिक सहयोगलाई पारदर्शी बनाउन, कानुनले तोकेको खर्च सीमाको पूर्ण पालना गराउन र प्रभावकारी निगरानी राख्न बैङ्क खाता अनिवार्य गरिएको हो। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आर्थिक सुशासन कायम गर्नका लागि यो व्यवस्था लागू गरिएको जानकारी दिए।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ मा निर्वाचन प्रयोजनका लागि बैङ्क खाता अनिवार्य हुनुपर्ने स्पष्ट व्यवस्था छ। उक्त कार्यविधिअनुसार आयोगमा दर्ता भएका सबै राजनीतिक दल, समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरूले समेत निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने आम्दानी र गरिने सम्पूर्ण खर्चको कारोबार सोही बैङ्क खातामार्फत मात्र गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *