जुम्लाको चन्दननाथ मतदान केन्द्र : सम्पूर्ण व्यवस्थापनको जिम्मा महिलालाई

जुम्ला, १३ फागुन । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको एउटा मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी महिला कर्मचारीलाई दिइने भएको छ।

जिल्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म सबै महिला कर्मचारी खटिने भएका हुन्।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार, यस केन्द्रमा खटिने महिला कर्मचारीहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउनेछन्। निर्वाचनलाई मर्यादित बनाउन राजनीतिक दल, पत्रकारलगायत सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उनले बताए।

जुम्लामा ७१ हजारभन्दा बढी मतदाता
निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जुम्लामा कूल ७१ हजार ७३९ मतदाता रहेका छन्। निर्वाचन सम्पन्न गर्न जिल्लाभर ६५४ जना कर्मचारी परिचालन गरिनेछ। प्रजिअ पौडेलले निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने भन्दै सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।

जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जिल्लाभर ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी खटाइनेछ।

यस्तै, ९२५ जना अस्थायी मतदाता (कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दी) का लागि दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ।

निर्वाचनका लागि आवश्यक मतपत्र जुम्ला आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका सहायक हरिकृष्ण तिमिल्सेनाका अनुसार प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जिल्लामा आइपुगेको हो।

निर्वाचनको सुरक्षालाई मजबुत बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै ९७४ जना म्यादी (निर्वाचन) प्रहरी खटाइने सुरक्षा समितिले जनाएको छ।

मतदाता शिक्षा र तालिमलाई तीव्रता
निर्वाचनलाई लक्षित गरी जिल्लाका ८ वटै स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।

निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन सोमबार जिल्ला निर्वाचन कार्यालयको आयोजनामा सरोकारवालाहरूसँग एक दिने अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ। यसैगरी, आगामी फागुन १५ गतेदेखि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि अभिमुखीकरण तालिम सुरु हुने कार्यालयले जनाएको छ।