प्रतिनिधिसभा निर्वाचनका लागि ७५ जिल्लामा पुग्यो मतपत्र र निर्वाचन सामग्री

काठमाडौँ, १३ फागुन । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका दुई जिल्लाबाहेक देशभरका ७५ वटै जिल्लामा मतपत्रसहितका सम्पूर्ण निर्वाचन सामग्री पुर्‍याइएको छ।

निर्वाचन आयोगका अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र ‘समानुपातिक’तर्फका दुवै प्रणालीका मतपत्रहरू सुरक्षित रूपमा सम्बन्धित जिल्लाहरूमा ढुवानी भइसकेको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले काठमाडौँ र भक्तपुरबाहेकका सबै जिल्लामा मतपत्र र आवश्यक निर्वाचन सामग्री पुगिसकेको जानकारी दिए। उनका अनुसार सुगम र नजिकका जिल्ला भएकाले उपत्यकाका बाँकी दुई जिल्लामा भने अन्तिम चरणमा सामग्री पठाउन लागिएको हो।

बाँकी रहेका काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयहरूमा आगामी बिहीबार मतपत्र तथा निर्वाचन सामग्री पठाइने आयोगले जनाएको छ। निर्वाचनको मिति नजिकिएसँगै आयोगले देशभर आफ्नो प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *