साँखु आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

काठमाडाैं, १६ फागुन । काठमाडौँको शङ्खरापुर नगरपालिका–७ मा रहेको ऐतिहासिक साँखु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ।

सन् १९५८ (वि.सं. २०१५) मा स्थापना भई लामो इतिहास बोकेको यस विद्यालयका विद्यार्थीहरूको प्रोत्साहनका लागि विभिन्न सामाजिक संस्थाहरूले सहयोग हात बढाएका हुन्।

लायन्स क्लब अफ शुभ ताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालयकाे समन्वय तथा लायन्स क्लब अफ आशीर्वाद, सितगङ्गा, क्यापिटल र ‘ॐ सप्लायर्स’ को संयुक्त सहयोगमा सो राहत सामग्री वितरण गरिएको हो।

विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई स्कूल ब्याग, कापी-कलम लगायतका शैक्षिक सामग्री, पानी खाने बोतल र चिसो मौसमलाई लक्षित गरी ऊनीको टोपी वितरण गरिएको थियो। सामग्री पाएपछि विद्यार्थी तथा अभिभावकहरू उत्साहित देखिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनद नाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पुष्पा श्रेष्ठले सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रममा लायन्स क्लबका तर्फबाट चार्टर प्रेसिडेन्ट राजेश हिमालय, बसन्त थापा, सुन्दर मानन्धर, सुमन सि थापा, सुशिला श्रेष्ठ, आकाश श्रेष्ठ, चन्द्रिका श्रेष्ठ, प्रमिला श्रेष्ठ, आदित्य जोशी र अशोक बोम्जन लगायतको सक्रिय उपस्थिति रहेको थियो।