इरानको एक विद्यालयमा भएकाे आक्रमणमा ४० छात्राको मृत्यु, इरानद्वारा इजरायल र अमेरिकी सैन्य अखडामा ४०० मिसाइल प्रहार

काठमाडौँ, १६ फागुन । इजरायल र इरानबीचको तनावले युद्धको रूप लिएको छ । शनिबार इजरायलले इरानको राजधानी तेहरान लगायतका प्रमुख शहरहरूमा भीषण हवाई आक्रमण गरेको छ ।

इरानको सरकारी समाचार एजेन्सी (इरना) का अनुसार इजरायली हमलामा दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना गम्भीर घाइते भएका छन् । इजरायलले आफ्नो यस सैन्य अभियानलाई ‘लायन्स रोर’ (शेरको गर्जन) नाम दिएको छ ।

इजरायली आक्रमणको प्रतिशोधमा इरानले पनि व्यापक ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार इरानले इजरायलतर्फ करिब ४०० वटा मिसाइल प्रहार गरेको छ । इरानले इजरायलका साथै मध्यपूर्वका अन्य देशहरू कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाएको दाबी गरिएको छ । यस्तै, संयुक्त अरब इमिरेट्सको प्रसिद्ध शहर दुबईलाई पनि लक्षित गरी हमला गरिएको छ ।

इजरायलले विशेष गरी इरानको रक्षा मन्त्रालय, गुप्तचर मन्त्रालय, इरानको परमाणु ऊर्जा सङ्गठन र सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालयलाई लक्षित गरी बमबारी गरेको थियो । आक्रमणको जोखिम बढेपछि सर्वोच्च नेता खामेनेईलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ ।

कतारस्थित समाचार संस्था अल जजीराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य कारबाही भएको उल्लेख गरेको छ । विशेष गरी इरान र अमेरिकाबीच परमाणु हतियारसम्बन्धी वार्ता भइरहेकै समयमा यो आक्रमण भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै आएका थिए ।

यो पछिल्लो सैन्य मुठभेडले मध्यपूर्वमा ठूलो मानवीय सङ्कट र विश्वव्यापी सुरक्षा चुनौती थपेको छ । इरानमा रहेका विदेशी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ भने विश्व समुदायले संयमता अपनाउन अपिल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *