अमेरिका–इजरायल आक्रमणमा इरानी सर्वोच्च नेता खामेनी मारिएकाे पुष्टि, इरान सङ्कट चर्कियो

एजेन्सी, १७ फागुन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक र संयुक्त हवाई आक्रमणसँगै मध्यपूर्व अभूतपूर्व तनाव र क्षेत्रीय युद्धको सँघारमा पुगेको छ। यसै आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। यस घटनाले सिङ्गो मध्यपूर्वको भू–राजनीतिलाई तरङ्गित बनाएको छ।

शनिबार बिहानैदेखि सुरु भएको अमेरिका–इजरायल संयुक्त सैन्य अभियानअन्तर्गत तेहरानसहितका रणनीतिक स्थलहरूमा भीषण बमबारी गरिएको थियो। इजरायली सेनाका अनुसार २०० वटा लडाकु विमान परिचालन गरी इरानका ५०० भन्दा बढी स्थानमा निशाना बनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘आसन्न खतरा उन्मूलन गर्न’ कारबाही गरिएको बताउँदै खामेनीलाई “इतिहासकै दुष्ट व्यक्ति” को सङ्ज्ञा दिएर उनको मृत्युको घोषणा गरेका थिए। त्यसको केही घण्टापछि आइतबार बिहान इरानी सरकारी टेलिभिजनले कालो ब्यानर राखेर खामेनीको निधनको औपचारिक पुष्टि गरेको हो।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा खामेनीका साथै उनकी छोरी, ज्वाइँ र नातिनीसमेत मारिएका छन्। इरानी न्यायपालिकाले रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख जनरल मोहम्मद पाकपुर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी पनि ‘सहिद’ भएको पुष्टि गरेको छ। त्यस्तै, मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणमा १०८ जनाको मृत्यु भएको इरानले दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

खामेनीको निधनमा इरानले ४० दिने राष्ट्रिय शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरेको छ। सङ्कटकालीन अवस्थामा राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीहरूले अस्थायी रूपमा देशको नेतृत्व सम्हाल्ने जनाइएको छ। अर्कोतर्फ, दिवङ्गत शाहका छोरा रेजा पहलवीले भने यस घटनालाई इरानमा ‘इस्लामिक गणतन्त्रको अन्त्यतर्फको कदम’ भनेर टिप्पणी गरेका छन्।

आफ्ना सर्वोच्च नेता मारिएपछि इरानको रिभोलुसनरी गार्डले ‘इतिहासकै सबैभन्दा हिंस्रक’ अपरेसन सुरु गर्ने चेतावनी दिँदै इजरायलतर्फ मिसाइल र ड्रोनको वर्षा गराएको छ। इजरायलको तेल अभिवमा भएको आक्रमणमा एक महिलाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना घाइते भएका छन्। देशभर उद्धार टोली परिचालन गरिएको छ।

इरानले बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीट र खाडी क्षेत्रका अन्य अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाएको छ। युएईको अबु धाबीमा मिसाइल खस्दा एक पाकिस्तानीसहित दुई जनाको मृत्यु भएको छ भने दुबई, कतारको दोहा र साउदी अरबको रियादमा समेत शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्।

यसैबीच, इरानले विश्वको प्रमुख तेल आपूर्ति मार्ग ‘होर्मुज जलडमरूमध्य’ बन्द गर्ने कदम चालेको घोषणा गरेपछि विश्वभर ऊर्जा सङ्कटको गम्भीर त्रास बढेको छ।

यस अप्रत्याशित घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तामा पारेको छ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले तत्काल आपतकालीन बैठक बोलाएको छ। महासचिव एन्टोनियो गुटेरेसले परिस्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै चेतावनी दिएका छन् भने इरानले अमेरिका र इजरायलमाथि युद्ध अपराधको आरोप लगाएको छ।

रुसले अमेरिका–इजरायलको कदमलाई ‘खतरनाक साहसिक कार्य’ भन्दै यसले क्षेत्रीय विनाश निम्त्याउने टिप्पणी गरेको छ भने युरोपेली सङ्घ (इयु) ले परिस्थितिलाई अति ‘खतरनाक’ भनेको छ। लेबनानको हिजबुल्लाह समूहले अमेरिका र इजरायलविरुद्ध उभिन सम्पूर्ण खाडी राष्ट्रलाई आह्वान गरेको छ।

युद्धको जोखिम उच्च भएसँगै इरान, इराक, कुवेत, सिरिया, युएई र इजरायलले आफ्नो हवाई क्षेत्र पूर्ण वा आंशिक रूपमा बन्द गरेका छन्। विश्वभरका प्रमुख एयरलाइन्सहरू र रुसले समेत मध्यपूर्व तर्फका सबै उडान अनिश्चितकालका लागि स्थगित गरेका छन्। तेहरानबाट सुरु भएको यो सैन्य द्वन्द्वले अब विश्व शक्ति राष्ट्रहरूलाई नै प्रत्यक्ष रूपमा तान्ने जोखिम बढाएको छ।