चुनावी सरगर्मी : भोट हाल्न दुई दिनमै ८० हजारले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ, १७ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यका छाडेर आफ्नो गृहजिल्ला फर्किने मतदाताको चाप ह्वात्तै बढेको छ। चुनावको मिति नजिकिएसँगै पछिल्लो दुई दिनमा मात्रै करिब ८० हजार यात्रुले उपत्यका छाडेका छन्।

नयाँ बसपार्कको व्यवस्थापन हेर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार, शुक्रबार र शनिबार काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। उनका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ वटा सार्वजनिक यात्रुवाहक बसमार्फत गाउँ फर्किनेको लर्को लागेको थियो। यही दुई दिनको अवधिमा विभिन्न जिल्लाका लागि ८० हजार यात्रु प्रस्थान गरेको उनले जानकारी दिए।

यता, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि चुनाव नजिकिएसँगै नाकाहरूबाट बाहिरिने सवारीसाधन र यात्रुको चाप बढेको पुष्टि गरेको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिलजङ्ग शाहले पछिल्लो ४८ घण्टाको अवधिमा उपत्यकाका विभिन्न नाका हुँदै ८० हजार यात्रु बाहिरिएको जानकारी दिए।

चुनाव आउन अझै केही दिन बाँकी रहेकाले बसपार्क तथा टिकट काउन्टरहरूमा भोट हाल्न गाउँ फर्किने सर्वसाधारणको भीड थप बढ्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *