अमेरिका-इरान द्वन्द्व न्यूनीकरणका लागि इन्डोनेसियाको मध्यस्थता प्रस्ताव : इरानद्वारा स्वागत

काठमाडौँ, फागुन १७ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि उत्पन्न तनाव कम गर्न इन्डोनेसियाले अघि सारेको मध्यस्थताको प्रस्तावलाई इरानले स्वागत गरेको छ । जकार्तास्थित इरानी दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै वासिङ्टन र तेहरानबीच संवाद गराउन इन्डोनेसियाली राष्ट्रपतिको तत्परताको प्रशंसा गरेको हो । इन्डोनेसियाको विदेश मन्त्रालयले शनिबार राष्ट्रपति प्रबोवो सुविआन्तो दुवै पक्षको सहमतिमा मध्यस्थताका लागि तेहरान जान इच्छुक रहेको जानकारी दिएको थियो । इरानी नियोगले राष्ट्रपतिको सो इच्छाको स्वागत गर्दै अमेरिका र इजरायलको सैन्य गतिविधिलाई ‘आक्रामकता’ भन्दै त्यसको निन्दा गर्न इन्डोनेसियाली अधिकारीहरूको दृढ अडानको आवश्यकतामा समेत जोड दिएको छ ।

पछिल्लो समय मध्यपूर्वको स्थिति अत्यन्तै गम्भीर मोडमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरिसक्नुभएको छ । शनिबारदेखि अमेरिका र इजरायलले इरानी लक्ष्यहरूमा शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेपछि इरानले पनि यस क्षेत्रमा रहेका आफ्ना ‘विरोधी’का सैन्य शिविर र भौतिक संरचनामा प्रत्याक्रमण गरिरहेको छ ।

तनाव बढ्दै जाँदा राष्ट्रपति ट्रम्पले इरानलाई थप चेतावनी दिनुभएको छ । उहाँले इरानले फेरि बदलाको कारबाही गरेमा वासिङ्टनले इरानमाथि ‘यसअघि कहिल्यै नदेखिएको र अत्यन्तै शक्तिशाली प्रहार’ गर्ने चेतावनी दिनुभएको छ । यस्तो सैन्य मुठभेडका बिच इन्डोनेसियाको मध्यस्थता प्रयासलाई शान्ति स्थापनाका लागि एउटा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *