इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिकार गर्ने साउदी अरबको चेतावनी

रियाद, १९ फागुन (एजेन्सी) । साउदी अरबले आफ्नो तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण जारी राखे कडा सैन्य प्रतिक्रिया जनाउने चेतावनी दिएको छ ।

साउदी सरकार निकट स्रोतले समाचार एजेन्सी एएफपीलाई सोमबार दिएको जानकारीअनुसार साउदी तेल क्षेत्रमा हुने थप आक्रमणले दुई देशबीच प्रत्यक्ष सैन्य मुठभेड निम्त्याउन सक्ने जोखिम बढेको हो ।

साउदी अरबको खाडी तटमा अवस्थित विश्वकै ठूलो मध्येको एक ‘रास तनुरा’ रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमण भएको थियो । उक्त आक्रमणपछि प्रशोधन केन्द्र आंशिक रूपमा बन्द गरिएको छ ।

साउदी सरकारी तेल कम्पनी ‘अरामको’ का स्रोतहरूका अनुसार अहिले साउदी अरब ‘हेर र पर्ख’ को रणनीतिमा रहेको छ । “यो इरानी नेतृत्वको योजनावद्ध प्रत्यक्ष आक्रमण हो वा गल्तीवश ड्रोनले लक्ष्य परिवर्तन गरेको हो भन्ने कुराको विश्लेषण भइरहेको छ,” स्रोतले भन्यो, “यदि यो अरामको विरुद्ध लक्षित अभियान प्रमाणित भएमा साउदी अरबले इरानी तेल प्रशोधन केन्द्रहरूलाई नै निशाना बनाएर सैन्य प्रतिशोध लिनेछ ।”

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक साउदी अरबमाथि हुने यस्ता आक्रमणले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत हलचल पैदा गरेको छ । यसअघि पनि साउदी अरामकोमा भएका आक्रमणले विश्वव्यापी तेल आपूर्ति शृङ्खला प्रभावित हुँदै आएको थियो । इरानले यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।