प्रतिनिधिसभा निर्वाचन: दिउँसो ३ बजेसम्म ७६ लाख मत खस्यो, ४० प्रतिशत मतदान सम्पन्न

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार देशभर उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज दिउँसो ३ बजेसम्म देशभर कुल ७६ लाख मत खसेको छ । यो कुल मतदाता सङ्ख्याको करिब ४० प्रतिशत हो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया देशका १६५ वटै निर्वाचन क्षेत्रमा जारी छ । आयोगले देशभर कायम गरेका १० हजार ९६७ मतदान स्थलहरूमा केही छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।

बिहानको समयमा केही सुस्त देखिए पनि मध्याह्नपछि मतदाताहरूको उपस्थिति बाक्लो देखिएको छ । विशेष गरी तराई र पहाडी जिल्लाहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको पाइएको छ ।
निर्वाचन आयोगले मतदान गर्ने समय साँझ ५ बजेसम्म तोकेको छ ।

५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरूले मतदान गर्न पाउने व्यवस्था रहेकाले मतदानको प्रतिशत अझै बढ्ने आयोगको अनुमान छ । मतदान सम्पन्न भए लगत्तै मतपेटिकाहरू सङ्कलन गरी सुरक्षित स्थानमा पुर्‍याएर आजै रातिदेखि कतिपय क्षेत्रमा मतगणना सुरु गर्ने तयारी समेत गरिएको छ ।