युद्धसम्बन्धी अफवाह फैलाएको आरोपमा कतारमा १९४ जना पक्राउ : मिसाइलको भिडियो खिच्ने र सेयर गर्नेमाथि कडा कारबाही

काठमाडौँ, २२ फागुन । कतारको आन्तरिक मन्त्रालयले युद्धसम्बन्धी भ्रामक सूचना र अफवाह फैलाएको आरोपमा विभिन्न देशका १९४ जनालाई नियन्त्रणमा लिएको छ।

मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका बीच सुरक्षा निर्देशन उल्लंघन गरेको भन्दै कतारी अधिकारीहरूले उनीहरूलाई पक्राउ गरेका हुन्।

कतारको अपराध अनुसन्धान महानिर्देशनालय अन्तर्गतको ‘आर्थिक तथा साइबर अपराध नियन्त्रण विभाग’ ले यो कारबाही अगाडि बढाएको हो।

मन्त्रालयका अनुसार पक्राउ परेका व्यक्तिहरूले इरानले कतारतर्फ प्रहार गरेका मिसाइलहरूको भिडियो खिच्ने, ती दृश्यहरूलाई सामाजिक सञ्जालमा जथाभावी सम्प्रेषण गर्ने र आम नागरिकमा त्रास फैलिने गरी भ्रामक व्याख्या गर्ने गरेका थिए। यस्ता गतिविधिले सार्वजनिक सुरक्षामा दखल पुर्‍याउने र राष्ट्रिय सुरक्षाका सम्बन्धित निकायले जारी गरेका निर्देशनको उल्लंघन हुने ठहर सरकारले गरेको छ।

आन्तरिक मन्त्रालयले पक्राउ परेका सबैमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही सुरु गरिएको जानकारी दिएको छ। “यस्ता सामग्रीले जनमानसमा भ्रम पैदा गर्ने र सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गर्ने भएकाले हामी शून्य सहनशीलता अपनाउँछौँ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले हाल विकसित भइरहेका घटनाक्रमसँग सम्बन्धित कुनै पनि दृश्य वा भिडियो खिच्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ। साथै, आम नागरिक र आप्रवासीहरूलाई देहायका कुरा पालना गर्न आग्रह गरिएको छ ।

आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न र प्रयोग गर्न।
सामाजिक सञ्जालमा कुनै पनि भ्रामक सामग्री वा अफवाह फैलाउने कार्य नगर्न।
सुरक्षा निकायले जारी गरेका सूचना र निर्देशनहरूको अक्षरसः पालना गर्न।
कतारमा ठूलो संख्यामा विदेशी श्रमिकहरू कार्यरत रहेकाले त्यहाँको सरकारले सूचना सम्प्रेषणमा कडाइ गरेको हो। नियम उल्लंघन गर्ने विदेशी नागरिकलाई जरिवाना, जेल सजाय र देश निकाला समेत हुन सक्ने कानुनी प्रावधान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *