रुसी तेल भारतलाई बेच्न अमेरिकाको सर्तसहितको अनुमति : विश्व ऊर्जा बजारलाई सन्तुलित राख्ने प्रयास

एजेन्सी, २२ फागुन । अमेरिकाले रुसमाथि लगाइएका कडा आर्थिक प्रतिबन्धका बीच विश्व ऊर्जा बजारमा हुनसक्ने सम्भावित सङ्कटलाई मध्यनजर गर्दै समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी अनुमति दिएको छ । विश्व बजारमा इन्धनको आपूर्ति श्रृङ्खलालाई निरन्तरता दिन र मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकी सरकारले यस्तो रणनीतिक निर्णय लिएको हो ।

अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (OFAC) ले बिहीबार एक विशेष इजाजतपत्र जारी गर्दै यो आंशिक छुटको घोषणा गरेको हो ।

नयाँ व्यवस्था अनुसार आगामी ५ मार्च २०२६ सम्म जहाजमा लोड भइसकेका रुसी कच्चा तेल तथा पेट्रोलियम उत्पादनहरू भारतमा पुर्‍याउन र बिक्री गर्न पाइनेछ । मन्त्रालयका अनुसार यस्तो तेल खरिद-बिक्रीसँग सम्बन्धित वित्तीय लेनदेनहरू ३ अप्रिल २०२६ सम्मका लागि वैध रहनेछन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले विश्व बजारमा तेलको आपूर्ति नखल्बलियोस् भन्ने उद्देश्यले यो अस्थायी छुट दिइएको स्पष्ट पार्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यो कदमले ऊर्जा बजारमा देखिएको दबाब कम गर्ने र इरानले विश्व ऊर्जा आपूर्तिमा सिर्जना गर्न खोजेको तनावलाई निस्तेज पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस निर्णयबाट रुसी सरकारलाई ठूलो आर्थिक लाभ पुग्ने सम्भावना भने न्यून रहेको अमेरिकी दाबी छ, किनकि यो अनुमति केवल समुद्रमा पहिले नै लोड भएर अड्किएका कार्गोहरूका लागि मात्र सीमित रहनेछ ।

भारतले अमेरिकासँगको व्यापारिक सहमतिको हिस्साका रूपमा रुसी तेलको खरिद क्रमशः बन्द गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । यद्यपि, वर्तमान सङ्कट व्यवस्थापनका लागि यो अस्थायी अनुमतिले भारतलाई राहत पुग्ने देखिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बरमा रुसका प्रमुख तेल कम्पनीहरू लुकोइल (Lukoil) र रोजनेफ्ट (Rosneft) माथि निकै कडा प्रतिबन्धको घोषणा गर्नुभएको थियो । युक्रेनमाथि रुसको आक्रमणपछि वासिङ्टनले चालेका आर्थिक कदममध्ये यसलाई सबैभन्दा कडा मानिएको थियो । ती प्रतिबन्धपछि विश्वका ठूला तेल खरिदकर्ताहरूले वैकल्पिक स्रोतको खोजी तीव्र बनाएका छन् ।

सन् २०२२ मा युक्रेनमाथि मस्कोले आक्रमण गरेपछि अमेरिका, युरोपेली सङ्घ र जी–७ राष्ट्रहरूले रुसको अर्थतन्त्रलाई कमजोर पार्न विभिन्न प्रतिबन्धहरू लगाउँदै आएका छन् । रुसले भने ‘स्याडो फ्लिट’ (अपारदर्शी स्वामित्व भएका पुराना ट्याङ्करहरू) मार्फत यस्ता प्रतिबन्ध छल्दै तेल निर्यात गरिरहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *