इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी, कांग्रेसका आचार्य पराजित

इलाम, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार नेम्वाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार नेम्वाङ २२ हजार ४२६ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नुभयो । नेम्वाङ र आचार्यबीचको मतान्तर ७ हजार ७७६ रहेको छ ।

यसैगरी, श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुलबहादुर राई ७ हजार ८१४ मतका साथ चौथो स्थानमा रहनुभयो भने नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत पाउनुभएको छ ।

सुहाङ नेम्वाङका लागि प्रतिनिधिसभा सदस्यमा यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा पनि उहाँले यसै क्षेत्रबाट कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८२० मतान्तरले पराजित गर्नुभएको थियो ।

अर्कोतर्फ, पराजित आचार्यका लागि यो दोस्रो चुनावी हार हो । रोचक कुरा त के छ भने, यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा आचार्य सुहाङका पिता स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग २ हजार १०२ मतले पराजित हुनुभएको थियो । अहिले उहाँ छोरा सुहाङसँग पराजित हुन पुग्नुभएको छ ।

फागुन २१ गते भएको निर्वाचनमा यस क्षेत्रमा कूल १ लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेको थियो । जसमध्ये ३ हजार ८८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १३ राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १४ उम्मेदवार चुनावी मैदानमा थिए ।