मध्यपूर्व युद्ध : ‘६ महिनासम्म निरन्तर लड्न सक्छौँ’– इरान

एजेन्सी, २४ फागुन । मध्यपूर्वमा जारी द्वन्द्व थप उत्कर्षमा पुगेको छ । यसैबीच, इरानले अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न आफ्नो सेना पूर्ण रूपमा सक्षम रहेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले वर्तमान गतिमै युद्ध जारी रहे पनि इस्लामिक गणतन्त्रको सैन्य क्षमताले कम्तीमा छ महिनासम्म सङ्घर्ष धान्न सक्ने बताएको हो ।

दोस्रो हप्तामा प्रवेश गरेको यो द्वन्द्वले सिङ्गो मध्यपूर्वलाई चपेटामा पारेको छ । इजरायल र इरानबीचको सीधा टकरावका कारण क्षेत्रीय सुरक्षा सङ्कटमा परेको छ ।

इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागस्थित एक होटलमा लक्षित आक्रमण गरेको छ । इरानको कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरू रहेको आशङ्कामा गरिएको उक्त आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता, इजरायली सेनाले ‘तेहरानका विभिन्न स्थानमा’ इन्धन भण्डारण र सैन्य पूर्वाधारलाई लक्षित गर्दै नयाँ आक्रमण सुरु गरेको जनाएको छ । शनिबार राजधानी तेहरानमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणलाई इरानले आफ्नो ऊर्जा पूर्वाधारमाथिको पहिलो प्रत्यक्ष हमला भनेको छ । यस घटनालगत्तै इरानको सेयर बजारमा गिरावट आएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानको आकाशमा इजरायलले लगभग पूर्ण नियन्त्रण हासिल गरेको दाबी गरेका छन् ।

इरानको चेतावनी : ‘उन्नत क्षेप्यास्त्र प्रहार गर्न बाँकी छ’
आईआरजीसीका प्रवक्ता अली मोहम्मद नैनीले इरानले हालसम्म ‘पहिलो र दोस्रो पुस्ताका’ क्षेप्यास्त्र मात्र प्रयोग गरेको र आगामी दिनमा अझ उन्नत तथा लामो दूरीका घातक मिसाइलहरू प्रयोग गरिने चेतावनी दिएका छन् ।

यस्तै, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी राष्ट्रहरूलाई इरानविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिन सचेत गराएका छन् । इरानका न्यायपालिका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले खुला वा गोप्य रूपमा शत्रुलाई सघाउने क्षेत्रीय देशहरू इरानको तारो बन्ने चेतावनी दिएका छन् ।

युद्धको बाछिटा खाडीका अन्य देशहरूमा पनि परेको छ । साउदी अरेबियाले रियादतर्फ लक्षित दर्जनौँ ड्रोन खसालेको जनाएको छ भने कतार र यूएईले इरानबाट प्रहार गरिएका क्रुज तथा ब्यालेस्टिक मिसाइल र ड्रोनहरू आकाशमै नष्ट गरेको बताएका छन् ।

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारणमा आक्रमण भएपछि कुवेतको राष्ट्रिय तेल कम्पनीले होर्मुज जलडमरुमा बढ्दो जोखिमका कारण कच्चा तेल उत्पादन घटाउने निर्णय गरेको छ । गत आइतबार कुवेतस्थित अमेरिकी सैन्य अड्डामा भएको ड्रोन आक्रमणमा ६ जना अमेरिकी सैनिक मारिएका थिए ।