राष्ट्रिय सभामा नयाँ अनुहारको प्रवेश : १७ नवनिर्वाचित सांसदले लिए शपथ, एक जना अनुपस्थित
काठमाडौँ, २५ फागुन । सङ्घीय संसद्को माथिल्लो सदन, राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गत माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १८ मध्ये १७ जना सांसदले बिहीबार सिंहदरबारमा आयोजित एक विशेष समारोहबीच शपथ लिएका हुन्।
नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका थिए। सङ्घीय संसद् सचिवालयका अनुसार निर्वाचित १८ सदस्यमध्ये १७ जना उपस्थित भई शपथ लिएका छन् भने नवनिर्वाचित सांसद मीनासिंह रखाल भने आजको समारोहमा अनुपस्थित रहेकी थिइन्।
समारोहमा शपथ लिने नवनिर्वाचित सांसदहरूमा पुराना र अनुभवी नेतादेखि नयाँ अनुहारसम्मको सहभागिता रहेको छ।
आज शपथ ग्रहण गर्नेहरूमा खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण र रामकुमारी झाँक्री रहेका छन्।
यसैगरी, रेखाकुमारी झा, रोश्नी मेचे, ललितजङ्ग शाही, लिलाकुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिलबहादुर थापा र सोमनाथ पोर्तेलले पनि आजै राष्ट्रिय सभा सदस्यको हैसियतमा शपथ लिएका छन्।
संविधानअनुसार ५९ सदस्यीय राष्ट्रिय सभालाई स्थायी सदन मानिन्छ। यसका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ भने प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने र सोही स्थानमा नयाँ निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुरूप फागुन २० गते रिक्त भएका पदहरूमा यी नयाँ सदस्यहरू निर्वाचित भएर आएका हुन्।