विदेशी नागरिकलाई सदस्य बनाएर कारोबार नगर्न सहकारीहरूलाई काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ, २५ फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालित सहकारी संस्थाहरूलाई गैरनेपाली (विदेशी) नागरिकसँग कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न कडा निर्देशन दिएको छ।
केही सहकारी संस्थाहरूले विदेशी नागरिकलाई समेत संस्थाको सदस्य बनाएर बचत तथा ऋणको कारोबार गरिरहेको गुनासो आएपछि महानगरले यस्तो गैरकानुनी कार्य तत्काल बन्द गर्न सबै सहकारीलाई सचेत गराएको हो।
महानगरको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई सहकारीको सदस्य बनाउने र उनीहरूसँग कारोबार गर्ने कार्य कानुनविपरीत हो। सङ्घीय ‘सहकारी ऐन, २०७४’ को दफा ३० र ‘काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४’ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट कानुनी व्यवस्था रहेको काफ्लेले जानकारी दिए।
महानगरको यस निर्देशनलाई अटेर गरी कारोबार जारी राखेमा त्यस्ता सहकारीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। कानुनअनुसार सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूमा मात्र केन्द्रित रहेर बचत तथा ऋणको कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
यसैबीच, लामो समयदेखि साधारणसभा नगरेका र वार्षिक प्रतिवेदन नबुझाएका सहकारीलाई तत्काल खारेजीको प्रक्रियामा नलगिने महानगरले प्रस्ट पारेको छ।
प्रक्रियामै नआएका सहकारीलाई सिधै खारेजीमा लैजाँदा सर्वसाधारण बचतकर्ताको रकम हिनामिना हुने जोखिम उच्च रहने भएकाले महानगरले यो रणनीति अपनाएको हो। खारेजीको प्रक्रियामा जानुअघि सम्बन्धित सहकारीले आफ्ना बचतकर्ताको विवरण र सम्पूर्ण आर्थिक कारोबारको यकिन तथ्याङ्क अनिवार्य रूपमा पेस गर्नुपर्ने विभाग प्रमुख काफ्लेले बताए। पहिले दायित्व फरफारकको सुनिश्चितता भएपछि मात्रै खारेजी प्रक्रिया अघि बढाइनेछ।
महानगरले दुई महिनाअघि नै सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गर्ने चेतावनी दिइसकेको छ।
काठमाडौँ महानगरपालिकाको तथ्याङ्कअनुसार हाल महानगरभित्र करिब एक हजार ९०० सहकारी संस्थाहरू सञ्चालनमा छन्।