वायु प्रदूषण खतराको विन्दुमा : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौं, २६ फागुन । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूको वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाको गुणस्तर खस्किएसँगै जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिले काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका अधिकांश क्षेत्रको हावामा प्रदूषणको मात्रा निकै बढेको छ । ती क्षेत्रको वायुमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने सुक्ष्म कण अर्थात् ‘पर्टिकुलेट म्याटर’ (पीएम २.५) को मात्रा उच्च विन्दुमा पुगेको मन्त्रालयले जनाएको छ ।
“यस्ता सुक्ष्म र हानिकारक कणहरू श्वासप्रश्वास र छालाको माध्यमबाट सीधै शरीरभित्र प्रवेश गर्ने भएकाले यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ,” प्रवक्ता डा. बुढाथोकीले भने ।
वायु प्रदूषणका कारण रुघाखोकी, दम, निमोनिया जस्ता श्वासप्रश्वासका समस्याका साथै आँखा पोल्ने र छालासम्बन्धी रोगको संक्रमण बढ्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती महिलाहरूलाई प्रदूषणले छिटो असर गर्ने भएकाले उनीहरूको विशेष ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।
साथै, घरबाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य रूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न र सावधानी अपनाउन मन्त्रालयले सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ ।