देशभर वायु प्रदूषण उच्च : अनिवार्य मास्क प्रयोग गर्न र सतर्कता अपनाउन वातावरण विभागको अपिल

काठमाडौँ, १६ फागुन । लामो समयदेखिको हिउँदे खडेरी र मौसमी प्रतिकूलताका कारण देशभर वायु प्रदूषणको स्तर ह्वात्तै बढेको छ । प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले घरबाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्न र विशेष सावधानी अपनाउन आम नागरिकलाई अपिल गरेको छ ।

विभागका अनुसार विशेषगरी काठमाडौँ, पोखरा लगायतका ठूला सहर र तराईका अधिकांश भूभागमा हावाको गुणस्तर निकै खस्किएको छ । ती क्षेत्रको वायुमा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने सुक्ष्म कण (पीएम २.५) को मात्रा उच्च विन्दुमा पुगेको छ । लामो समय वर्षा नहुनु र चिसो मौसमका कारण हावामा रहेका प्रदूषित कणहरू छरिएर जान नसक्दा विशेषगरी बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक हुने गरेको विभागले जनाएको छ ।

बढ्दो प्रदूषण न्यूनीकरण र स्वास्थ्य सुरक्षाका लागि विभागले आज एक अपिल जारी गर्दै विशेष ध्यान दिन नागरिकलाई अनुरोध गरेको छ । प्रदूषण उच्च भएको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, निस्कनै परे गुणस्तरीय मास्क लगाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा कृषि बालीका अवशेषहरू (पराल, छ्वाली आदि) नजलाउन विभागले आग्रह गरेको छ ।

त्यसैगरी, अहिले सुख्खायाम सुरु भएसँगै वन जङ्गलमा लाग्ने डढेलोले पनि प्रदूषण बढाउन मुख्य भूमिका खेल्ने भएकाले डढेलो लाग्न नदिन र लागिहालेमा तत्काल नियन्त्रणको प्रयास गर्न अपिल गरिएको छ । साथै, विकास निर्माणका काम गर्दा धुलो नउड्ने व्यवस्था मिलाउन र उद्योग कलकारखानालाई सरकारले तोकेको वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागले निर्देशन दिएको छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदूषण नियन्त्रण कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताए । “जिम्मेवार सबै निकाय र आम नागरिकको सामूहिक सहकार्य र सकारात्मक पहलबाट मात्रै बढ्दो प्रदूषण न्यूनीकरण गर्न सम्भव छ,” उनले भने ।