मध्यपूर्व तनावको असरः पाकिस्तानमा इन्धन अभाव, मूल्यवृद्धिको त्रास कायमै

एजेन्सी, २७ फागुन । मध्यपूर्वमा चर्किएको युद्ध र तनावको प्रत्यक्ष असर पाकिस्तानमा पर्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको आपूर्ति शृङ्खलामा अवरोध आएसँगै पाकिस्तानमा इन्धनको चरम अभाव देखिएको छ भने नागरिकमा फेरि मूल्यवृद्धिको त्रास बढेको छ ।

यद्यपि, पाकिस्तानी सरकारले भने तत्काल इन्धनको मूल्य नबढ्ने दाबी गर्दै अवस्था नियन्त्रणमै रहेको आश्वासन दिएको छ ।

पञ्जाब प्रान्तको राजधानी लाहोरलगायतका क्षेत्रमा रहेका इन्धन डिपोहरू रित्तिएका छन् । डिपोमा इन्धन नभएपछि देशका विभिन्न भागमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने दर्जनौँ ट्याङ्करहरू सडक किनारमा अलपत्र परेका छन् ।

विगत चार दिनदेखि डिपोमा पेट्रोल नआएको ट्याङ्कर चालक अब्दुल शकुरले बताए । “डिपो रित्तो छ, हामी इन्धन कुरेर बसिरहेका छौँ,” उनले भने, “इरानतर्फको नाका पनि बन्द भएको खबर सुनेका छौँ, यसले आपूर्ति झनै असहज बनाएको अनुमान गरेका छौँ ।”

ट्याङ्कर चालकका सहयोगी मजहर महमुदका अनुसार बुधबारसम्म पनि डिपोहरूमा इन्धन आइपुगेको छैन । “कर्मचारीहरूले इन्धन आउन अझै ५ देखि ६ दिन लाग्न सक्ने बताएका छन् । अवस्था सामान्य छैन, पेट्रोल नपाएरै धेरै ट्याङ्करहरू सडकमै थन्किएका छन्,” उनले भने ।

पाकिस्तानले आफ्नो अधिकांश पेट्रोलियम पदार्थ खाडी मुलुकहरूबाट आयात गर्दै आएको छ । तर, मध्यपूर्वको सङ्कटका कारण समुद्री मार्ग असुरक्षित बनेपछि यस साता इन्धन बोकेका पानीजहाजहरूलाई नौसैनिक सुरक्षा दिएर ल्याइएको अधिकारीहरूले बताएका छन् ।

गत साता मात्रै पाकिस्तानी सरकारले पेट्रोलियम पदार्थको मूल्यमा करिब २० प्रतिशतले भारी वृद्धि गरेको थियो । मूल्यवृद्धिसँगै देशभरका पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन लागेको थियो भने ‘प्यानिक बाइङ’ (आत्तिएर धेरै खरिद गर्ने प्रवृत्ति) बढेको थियो ।

पेट्रोलियममन्त्री अली परवेज मलिकले मङ्गलबार एक टेलिभिजन अन्तर्वार्तामा तत्कालै मूल्यमा ठूलो हेरफेर नहुने बताएका छन् । सरकारले आपूर्ति व्यवस्थापनलाई सहज बनाउने प्रयास गरिरहेको उनको भनाइ छ ।

यसैबीच, इन्धन सङ्कटलाई मध्यनजर गर्दै प्रधानमन्त्री शहबाज सरिफले ऊर्जा बचतका लागि कठोर कदमहरू घोषणा गरेका छन् । सरकारी कार्यालयमा हप्तामा चार दिन मात्र काम गर्ने र केही समयका लागि विद्यालयहरू बन्द गर्नेजस्ता मितव्ययी उपायहरू लागू गरी इन्धन खपत कम गर्ने सरकारी लक्ष्य छ ।

आर्थिक विश्लेषकहरूले मध्यपूर्वको तनाव लामो समय लम्बिएमा पाकिस्तानजस्ता ऊर्जा आयातमा पूर्ण रूपले निर्भर मुलुकहरूले थप इन्धन सङ्कट र अचाक्ली मूल्यवृद्धिको दबाब झेल्नुपर्ने चेतावनी दिएका छन् ।