पहाडी र हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
काठमाडौँ, २९ फागुन । नेपालको वायुमण्डलमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसहित तीनवटा मौसमी प्रणालीको आंशिक प्रभाव देखिएकाले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी तथा हिमाली भेगमा बदली भई मौसमी गतिविधि सक्रिय हुने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बदली (बादल लाग्ने) रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहने र बाँकी क्षेत्रको मौसम आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
वर्षा र हिमपातका कारण हुनसक्ने चिसो र मेघगर्जन÷चट्याङको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । विशेषगरी पहाडी र हिमाली भेगमा यात्रा गर्ने पर्यटक, यातायातका साधन सञ्चालक तथा सर्वसाधारणलाई मौसमी अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ ।