पश्चिम एसिया तनाव: दुबईमा अलपत्र २७२ नेपालीको उद्धार, आज पनि उडान हुँदै
काठमाडौं, २९ फागुन । अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त हवाई आक्रमणपछि पश्चिम एसियाको उडान प्रभावित हुँदा अलपत्र परेका नेपालीहरुको सरकारले उद्धार सुरु गरेको छ।
यसै क्रममा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष उडानमार्फत बिहीबार दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको छ।
सरकारको समन्वयमा निगमले पश्चिम एसियाका विभिन्न देशमा रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउन उद्धार उडान गरिरहेको छ। निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार दुबईबाट २७२ जनालाई काठमाडौं ल्याएको सोही विमानले काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रुलाई भने दुबई पुर्याएको थियो।
उद्धार उडानको यो क्रम आज पनि जारी रहने निगमले जनाएको छ। प्रवक्ता पुनका अनुसार आज निगमको विमानले काठमाडौंबाट २६७ जना यात्रु लिएर दुबई प्रस्थान गर्ने र त्यहाँबाट थप १६४ जना नेपालीलाई काठमाडौं ल्याउने तालिका रहेको छ।
पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेसँगै पश्चिम एसियाली मुलुकहरुमा हवाई उडान बन्द भएको छ। गत फागुन १६ गतेदेखि त्यस क्षेत्रको आकाशमा उडान निषेध (नो फ्लाई जोन) गरिएपछि अलपत्र परेका यात्रुहरुलाई गन्तव्यमा पुर्याउन निगमले यो विशेष उद्धार उडानको व्यवस्था गरेको हो।