एआई प्रयोग गरी युएईमा भ्रामक भिडियो फैलाउने नेपालीसहित १० जना पक्राउ
काठमाडौँ, ३० फागुन । मध्यपूर्वमा जारी तनावका बीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरी भ्रामक सूचना फैलाएको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपालीसहित १० जना पक्राउ परेका छन् । युएईका विभिन्न स्थानमा आक्रमण र विष्फोट भएको देखाउने झुटा भिडियो सामग्री सार्वजनिक गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
युएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले सामाजिक सञ्जालमा भ्रामक दृश्यहरू फैलाउने ती व्यक्तिहरूलाई पक्राउ गर्न आदेश दिनुभएको थियो । गल्फ न्युजका अनुसार पक्राउ परेका १० जनामध्ये एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूको तस्वीर सार्वजनिक गरे पनि उनीहरूको विस्तृत परिचय भने खुलाएको छैन ।
अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरूले डिजिटल प्लेटफर्ममार्फत युएईका प्रमुख पर्यटकीय स्थल र महत्वपूर्ण संरचनाहरूमा विष्फोट, भीषण आगलागी र आक्रमण भएका नक्कली भिडियोहरू प्रसार गरेका थिए । ती भिडियोहरूमा एआईको प्रयोग गरी वास्तविक जस्तो देखिने गरी विष्फोटका दृश्यहरू र मानिसहरूको भीडलाई तोडमरोड गरेर प्रस्तुत गरिएको थियो ।
यस्तै, कतिपय सामग्रीमा एयर डिफेन्स सिस्टमले गरेको प्रतिरक्षाका वास्तविक दृश्यहरूलाई समेत भ्रम फैलाउने उद्देश्यले प्रयोग गरिएको पाइएको छ ।
युएईका सुरक्षा अधिकारीहरूले डिजिटल निगरानीका क्रममा ती व्यक्तिहरूले मध्यपूर्वको वर्तमान क्षेत्रीय परिस्थितिको फाइदा उठाउँदै जनतामा त्रास फैलाउन खोजेको बताएका छन् । राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था र मुलुकको स्थिरतामा आँच पुर्याउने नियतले यस्ता सामग्री सम्प्रेषण गरिएको सरकारी ठहर छ ।
अनुसन्धानपछि पक्राउ परेका अभियुक्तहरूलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । युएई सरकारले सामाजिक सञ्जालमा कुनै पनि किसिमका भ्रामक र झुटो सूचना सम्प्रेषण नगर्न आफ्ना नागरिक र आप्रवासीहरूलाई सचेत गराएको छ ।
