मन्त्रिपरिषद्ले गरेका राजनीतिक नियुक्तिप्रति चौतर्फी विरोध, बदर गर्न सांसदहरूको माग

काठमाडौं, २ चैत्र । मन्त्रिपरिषद्ले हालै गरेका राजनीतिक नियुक्ति र सिफारिसलाई लिएर चौतर्फी विरोध सुरु भएको छ। राजनीतिक पहुँच र नातावादका आधारमा राज्यका निकायमा नियुक्ति गरिएको भन्दै प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री तथा अभियन्ताहरूले उक्त निर्णय तत्काल बदर गर्न माग गरेका छन्।

मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेपछि प्रधानमन्त्री कार्कीको तीव्र आलोचना भइरहेको छ।

गुल्मी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा युवा राजनीतिज्ञ सागर ढकालले सरकारको यस कदमको कडा शब्दमा निन्दा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यका निकायहरू विज्ञताका आधारमा नभई राजनीतिक पहुँच र ‘नातावाद’का आधारमा सञ्चालन हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले अविलम्ब उक्त नियुक्ति बदर गर्न सरकारसँग माग गरेका छन्।

यसैगरी, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएकी छन् भने म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वशिक्षामन्त्री महावीर पुनले यी नियुक्ति र सिफारिसहरू ‘शतप्रतिशत गलत’ भएको टिप्पणी गरेका छन्।

त्यस्तै, ‘जेन–जी’ आन्दोलनको अग्रमोर्चामा रहेकी अभियन्ता रक्षा बमले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले भावुक हुँदै भनेकी छन्, ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेन–जी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको पर्वाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। यो देशले विस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि त्यो आन्दोलन थियो। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहारस्वरूप परिषद्, विभाग वा समितिका कुर्सीहरू बाँडफाँट गर्नका लागि होइन।’