झापाको भद्रपुरबाट खैरो हिरोइनसहित सात जना पक्राउ
झापा, ४ चैत । झापाको भद्रपुर नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध खैरो हिरोइनसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरबाट तीन जनालाई पक्राउ गरिएको हो । गए राति उक्त घरमा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हिरोइन बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
यसैगरी, भद्रपुर बसपार्क क्षेत्रमा गरिएको अर्को कारबाहीका क्रममा चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्र भएकाले भद्रपुरमा पछिल्लो समय लागुऔषधको अवैध ओसारपसार बढेका कारण प्रहरीले निगरानी र सक्रियता बढाएको छ ।