विश्व स्वास्थ्य सङ्गठनबाट अर्जेन्टिना औपचारिक रूपमा बाहिरियो, स्वास्थ्य नीतिमा ‘सार्वभौमिकता’ कायम राख्ने दाबी
एजेन्सी, ४ चैत । अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठन (WHO) बाट औपचारिक रूपमा बाहिरिएको छ । अर्जेन्टिनाका परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमार्फत आफ्नो देश यस अन्तर्राष्ट्रिय निकायबाट पूर्ण रूपमा अलग भएको पुष्टि गर्नुभएको हो ।
परराष्ट्रमन्त्री क्विर्नोका अनुसार अर्जेन्टिनाले १७ मार्च २०२५ मा नै संयुक्त राष्ट्र सङ्घका महासचिवलाई पत्र पठाएर सङ्गठनबाट बाहिरिने निर्णयको जानकारी गराएको थियो । ‘भियना सन्धि’ को प्रावधानअनुसार नोटिफिकेसन (सूचना) दिएको एक वर्षपछि यो निर्णय बुधबार (१७ मार्च २०२६) देखि औपचारिक रूपमा लागू भएको हो ।
आफ्नो देशको निर्णयको बचाउ गर्दै परराष्ट्रमन्त्री क्विर्नोले भन्नुभयो, “अर्जेन्टिना अब उपरान्त स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका लागि द्विपक्षीय सम्झौता र क्षेत्रीय मञ्चहरूमा केन्द्रित हुनेछ । स्वास्थ्य नीतिहरू निर्धारण गर्ने हाम्रो सार्वभौमिक अधिकार र स्वतन्त्रता अब पूर्ण रूपमा सुरक्षित रहनेछ ।”
अर्जेन्टिना सरकारले सन् २०२५ को मार्चमा नै यस कदमको घोषणा गरेको थियो । दक्षिणपन्थी विचारधाराका राष्ट्रपति हवियर मिलेइले पदभार सम्हालेलगत्तै परराष्ट्र मन्त्रालयलाई विश्व स्वास्थ्य सङ्गठनबाट देशको सहभागिता फिर्ता लिन निर्देशन दिनुभएको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ताले यसअघि नै प्रष्ट पारेअनुसार यो निर्णयले अर्जेन्टिनालाई आफ्नो आवश्यकता र सन्दर्भअनुसार स्वास्थ्य नीति निर्माण गर्न ‘लचिलोपन’ प्रदान गर्नेछ । “यस कदमले स्रोतको उपलब्धता बढाउनुका साथै स्वास्थ्य सम्बन्धी मामिलामा राष्ट्रिय सार्वभौमिकता सुनिश्चित गर्ने हाम्रो मार्गलाई पुष्टि गरेको छ,” प्रवक्ताको भनाइ थियो ।
राष्ट्रपति मिलेइले अन्तर्राष्ट्रिय निकायहरूको बढ्दो हस्तक्षेप र बहुपक्षीय सम्झौताहरूले राष्ट्रिय अर्थतन्त्र र स्वतन्त्रतामा अङ्कुश लगाएको आरोप लगाउँदै आउनुभएको थियो । अर्जेन्टिनाको यो बहिर्गमनलाई विश्व स्वास्थ्य क्षेत्रमा एक अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ, जसले अन्य देशहरूलाई पनि बहुपक्षीय प्रणालीमाथि पुनर्विचार गर्न प्रेरित गर्न सक्ने विश्लेषण गरिएको छ ।