चीनद्वारा मल निर्यातमा प्रतिबन्ध : घरेलु बजार जोगाउने रणनीतिले विश्वव्यापी आपूर्तिमा चरम सङ्कट
काठमाडौं, ६ चैत । आफ्नो घरेलु बजारलाई सुरक्षित गर्ने उद्देश्यले विश्वकै प्रमुख मल निर्यातक राष्ट्र चीनले कृषि मलको निर्यातमा भारी कटौती गरेको छ । अमेरिका–इजरायल र इरानबीचको बढ्दो भू–राजनीतिक तनावका कारण पहिल्यै मारमा परेको विश्वव्यापी मल बजारमा चीनको यस कदमले थप सङ्कट र दबाब सिर्जना गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई उद्योग स्रोतहरूले दिएको जानकारीअनुसार, बेइजिङले मध्य–मार्चदेखि नै नाइट्रोजन–पोटासियम मलको मिश्रण र केही फस्फेटयुक्त मलहरूको निर्यातमा रोक लगाएको हो ।
युरिया मलमा यसअघि नै प्रतिबन्ध र निर्यात कोटा लागू भइसकेको अवस्थामा, अब चीनबाट अमोनियम सल्फेटजस्ता केही सीमित मलहरू मात्र निर्यात हुन सक्नेछन् । यसको अर्थ हो– चीनले गत वर्ष निर्यात गरेको कुल परिमाणको आधादेखि तीन–चौथाइ भाग अब विश्व बजारमा जानेछैन । रोयटर्सको अनुमानअनुसार प्रतिबन्धित मलको यो परिमाण करिब ४ करोड मेट्रिक टनसम्म हुन सक्छ ।
स्मरण रहोस्, चीन विश्वकै सबैभन्दा ठूला मल निर्यातक राष्ट्रमध्ये एक हो । गत वर्ष मात्रै चीनले १३ अर्ब डलरभन्दा बढी मूल्य बराबरको मल विश्व बजारमा पठाएको थियो ।
मल ढुवानीको प्रमुख मार्ग मानिने ‘होर्मुज जलडमरु’ (स्ट्रेट अफ होर्मुज) मा अवरोध भइरहेका बेला चीनको यो प्रतिबन्धको खबर बाहिर आएको हो । समुद्रमार्फत हुने कुल मल आपूर्तिको करिब एक तिहाइ हिस्सा यही जलमार्ग हुँदै विश्वभर पुग्ने गर्छ । एकातिर ढुवानी मार्गमा अवरोध र अर्कोतिर प्रमुख उत्पादकको निर्यात प्रतिबन्धले विश्वभर कृषिक्षेत्र प्रभावित हुने जोखिम बढेको छ ।
यस विषयमा बीएमआईका वरिष्ठ कमोडिटिज विश्लेषक म्याथ्यू बिगिनले रोयटर्ससँग कुरा गर्दै भनेका छन्, ‘विश्वव्यापी अभावको समयमा उद्धार गर्न अघि सर्नुको साटो चीनले सधैँ आपूर्तिमा रोक लगाउने प्रवृत्ति देखाउँछ ।’
उनले थप स्पष्ट पार्दै भने, ‘उनीहरूले आफ्नो देशको खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन् । अन्तर्राष्ट्रिय बजारमा जेसुकै भए पनि आफ्नो घरेलु बजारलाई मूल्यवृद्धिको चपेटाबाट बचाउने उनीहरूको मुख्य रणनीति हो ।’
