निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य : आज एकैदिन तोलामा ७ हजार ८ सय रुपैयाँले घट्यो
काठमाडौँ, ६ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम निरन्तर जारी छ । अघिल्ला दिनहरूमा जस्तै आज पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार, आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ तोकिएको छ ।
यसअघि हिजो (बिहीबार) छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ र चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
यस साता सुनचाँदीको मूल्य लगातार घटिरहेको महासङ्घको तथ्याङ्कले देखाउँछ । गत बुधबार मात्रै नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार १ सय ५० रुपैयाँ कायम रहेको थियो । बुधबारको तुलनामा सुनको मूल्यमा ठूलो अन्तरले कमी आएको हो ।
स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार मूल्यमा प्रभाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ७ सय अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।