मृत्युको अफवाह फैलिएपछि इजरायली प्रधानमन्त्री नेतन्याहुले पत्रकार सम्मेलन गरेर भने– म जिउँदै छु
काठमाडौँ, ६ चैत । सामाजिक सञ्जालमा आफ्नो मृत्युको अफवाह व्यापक रूपमा फैलिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले त्यसको खण्डन गर्दै आफू जीवितै रहेको स्पष्ट पारेका छन् । मृत्युको हल्लालाई चिर्न र विश्व समुदायलाई प्रमाण दिन उनले बिहीबार राति विशेष पत्रकार सम्मेलन नै आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनको सुरुमै उपस्थित सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेतन्याहुले भने, “म सबैभन्दा पहिले यो भन्न चाहन्छु कि म जिउँदै छु र तपाईंहरू सबै यसको साक्षी हुनुहुन्छ । यसका साथै, म मेराबारे फैलिएका सम्पूर्ण ‘फेक न्युज’ (भ्रामक समाचार) को कडा रूपमा खण्डन गर्दछु ।”
सोही क्रममा उनले अमेरिका र इजरायलको रणनीतिक साझेदारीबारे पनि चर्चा गरेका थिए । उनले भने, “राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायल अत्यन्तै मजबुतिका साथ आफ्नो लक्ष्यमा अगाडि बढिरहेका छन् ।”
यसअघि गत मार्च १३ मा प्रधानमन्त्री नेतन्याहुको आधिकारिक ‘एक्स’ (पहिलेको ट्विटर) अकाउन्टमा एउटा भिडियो पोस्ट गरिएको थियो । उक्त भिडियोमा उनी इरानको हमलाबारे जानकारी गराइरहेका देखिएका थिए ।
तर, सामाजिक सञ्जालका कैयौँ प्रयोगकर्ताहरूले उक्त भिडियो सक्कली नभएर ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको प्रयोग गरी बनाइएको दाबी गरेका थिए । त्यही भिडियोलाई आधार मानेर कतिपयले नेतन्याहुको मृत्यु भइसकेको र तथ्य लुकाउन एआई भिडियो प्रयोग गरिएको भन्दै अफवाह फैलाएका थिए ।
सामाजिक सञ्जालमा मृत्युको हल्ला भाइरल भएपछि सुरुमा इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त खबर पूर्णतः झुटो भएको स्पष्टीकरण दिएको थियो । तर, अफवाह नरोकिएपछि प्रधानमन्त्री नेतन्याहु आफैँ सञ्चारमाध्यममा उपस्थित भएर यस्तो प्रस्टीकरण दिन बाध्य भएका हुन् ।
