असनमा खट (रथ) जुधाएसँगै पाहाँचर्हे जात्रा उल्लासपूर्वक सम्पन्न, कार्यवाहक मेयर डंगोलपनि सहभागी

काठमाडौँ, ६ चैत । नेवार समुदायको मौलिक तथा महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘पाहाँचर्हे’ (पाहाँ चह्रे) जात्रा काठमाडौँ उपत्यकामा धुमधामका साथ मनाइएको छ । तीन दिनसम्म चल्ने यस जात्राको अन्तिम दिन बिहीबार काठमाडौँको असनमा परम्पराअनुसार खट (रथ) जुधाएर जात्रा सम्पन्न गरिएको हो ।

जात्राको मुख्य आकर्षण मानिने असनको जात्रामा परम्परागत रूपमा चिलाख साटासाट गर्दै खट जुधाइएको थियो । नेवारी भाषामा ‘द्यः ल्वाकेगु’ भनिने रथ जुधाउने यस जात्राको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (मेयर) सुनिता डंगोलपनि प्रत्यक्ष जात्रामा सहभागी थिइन् । रथ जुधाउने परम्परालाई देवताबीचको शक्ति आदानप्रदान र समुदायबीचको एकताको सन्देश दिने महत्त्वपूर्ण पर्वको रूपमा लिइन्छ ।

चैत्र कृष्ण चतुर्दशीदेखि सुरु हुने यो जात्रा धार्मिक आस्था र सांस्कृतिक परम्पराको विशिष्ट प्रतीक मानिन्छ । जात्राको पहिलो दिन घर–आँगन सफा गरी गणेश, भगवती र भैरवको पूजा आराधना गर्दै पर्वको शुभारम्भ गर्ने गरिन्छ । यस दिन देवदेवतालाई विभिन्न परिकार चढाउने चलन छ । त्यस्तै, दोस्रो दिन विभिन्न शक्तिपीठहरूमा देवदेवीको उपासना गर्नुका साथै कन्या पूजा गर्ने परम्परा छ । यस दिनलाई शक्ति उपासना र सामुदायिक सहभागिताको विशेष दिनका रूपमा लिइन्छ ।

‘पाहाँ’ को अर्थ पाहुना हो । यस पर्वमा विशेषगरी आफन्त, विवाहित छोरीचेली, इष्टमित्र तथा पाहुनालाई घरमा निमन्त्रणा गरी परम्परागत नेवारी भोज खुवाउने चलन छ । यसले पारिवारिक जमघट बढाउनुका साथै सामाजिक सम्बन्ध तथा आपसी सद्भावलाई सुदृढ बनाउन मद्दत गर्ने जनविश्वास रहेको छ ।

पूजापाठ, तान्त्रिक अनुष्ठान, सांस्कृतिक गतिविधि र उल्लेख्य जनसहभागितासहित यस वर्षको पाहाँचर्हे जात्रा हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

तस्बिरहरू….