मध्यपूर्व तनाव: इरान–इजरायल टकरावले खाडीदेखि युरोपसम्म तरङ्ग, ऊर्जा र समुद्री मार्गमा सङ्कट

एजेन्सी, ६ चैत्र । मध्यपूर्वमा जारी युद्धले क्षेत्रीय सीमा नाघ्दै विश्वव्यापी सङ्कटको रूप लिन थालेको छ। इरान र इजरायलबीचको प्रत्यक्ष टकराव, खाडी देशहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण, ऊर्जा पूर्वाधारमा पुगेको क्षति र समुद्री मार्गको अवरोधले खाडी क्षेत्रदेखि युरोपसम्म गम्भीर तरङ्ग पैदा गरेको छ।

युद्धको केन्द्रबिन्दु यतिबेला इरान र इजरायल बनेका छन्। इरानले प्रहार गरेको क्षेप्यास्त्रको जवाफमा इजरायली सेनाले तेहरानका सैन्य तथा रणनीतिक पूर्वाधारहरूलाई लक्षित गर्दै व्यापक आक्रमण गरेको छ। यसैबीच, जेरुसेलममा पनि मिसाइल आक्रमणको साइरन बज्नुका साथै शक्तिशाली विस्फोटहरू सुनिएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुगेको दाबी गर्दै युद्ध अपेक्षाभन्दा छिटो अन्त्यतर्फ उन्मुख भएको बताएका छन्। “इरान अब युरेनियम संवर्धन वा ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गर्न असमर्थ छ,” नेतान्याहुले दाबी गरे। उनले इरानी ग्यास पूर्वाधारमाथिको आक्रमण इजरायलको स्वतन्त्र निर्णय भएको बताउँदै अमेरिकालाई युद्धमा तानेको आरोप अस्वीकार गरेका छन्। यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस्तो आक्रमण नगर्न आफूले सुझाव दिएको खुलाएका छन्।

शुक्रबार खाडीका विभिन्न देशमा सुरक्षा चुनौती देखिएको छ। साउदी अरबको रक्षा मन्त्रालयले देशको पूर्वी र उत्तरी क्षेत्रमा ११ वटा ड्रोन रोकेर नष्ट गरेको जनाएको छ। उता, युएई र कुवेतले पनि आफ्नो हवाई सुरक्षा प्रणालीमार्फत क्षेप्यास्त्र आक्रमणको जवाफ दिइरहेका छन्। बहराइनले ‘इरानी आक्रामकता’ का कारण आफ्नो एक गोदाममा आगलागी भएको पुष्टि गरेको छ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले आन्तरिक सुरक्षा कडा पार्दै इरान र लेबनानी समूह हिजबुल्लाहसँग जोडिएको आशङ्कामा ५ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि विदेशी शक्तिसँग मिलेर राष्ट्रिय अर्थतन्त्रमा घुसपैठ गर्ने योजना बनाएको आरोप छ।

युद्धको सबैभन्दा ठूलो आर्थिक मार ऊर्जा बजारमा परेको छ। कतारका ऊर्जामन्त्री साद सेरिदा अल–काबीले ऊर्जा संरचनामा भएको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको जानकारी दिएका छन्। यसको पूर्ण मर्मतका लागि ३ देखि ५ वर्ष लाग्ने र दीर्घकालीन आपूर्ति सम्झौताहरूमा ‘फोर्स मेज्युअर’ (काबू बाहिरको परिस्थिति) लागू गर्नुपर्ने अवस्था आउन सक्ने उनले सङ्केत गरे।

यसैगरी, अन्तर्राष्ट्रिय समुद्री मार्गमा जोखिम उच्च भएको छ। इरानले विश्वको प्रमुख तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरेर दबाब बढाउने प्रयास गरिरहेको इजरायलको आरोप छ। यसै सन्दर्भमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले होर्मुज क्षेत्रमा सुरक्षित जल यातायात सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घीय संयन्त्र बनाउने विषयमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग छलफल अघि बढाएका छन्।

युद्धको बाछिटा युरोपसम्म पुगेको छ। युरोपेली सङ्घ (इयु) का नेताहरूले मध्यपूर्वको तनावका कारण सन् २०१५ कै जस्तो आप्रवासन सङ्कट दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले अनियन्त्रित आप्रवासी आवागमन रोक्न सम्पूर्ण संयन्त्र परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

उता लेबनानमा मानवीय सङ्कट गहिरिँदै गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हालसम्म १ हजार १ जनाको मृत्यु भइसकेको छ, जसमा ७९ महिला, ११८ बालबालिका र ४० स्वास्थ्यकर्मी छन्। २५ सयभन्दा बढी घाइते छन्। लेबनानी राष्ट्रपति जोसेफ आउनले तत्काल युद्धविराम र वार्ता सुरु गर्न अपिल गरेका छन्।

युद्धको अन्तर्राष्ट्रिय आयाम फराकिलो बन्दै जाँदा इरानले जर्मनीसँग रामस्टेनस्थित अमेरिकी एयरबेसको भूमिकाबारे स्पष्टीकरण मागेको छ। मध्यपूर्वको यो द्वन्द्व अब दुई देशबीच मात्र सीमित नरही ऊर्जा सुरक्षा, विश्वव्यापी आप्रवासन र अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्रविन्दु बनेको छ।