मध्यपूर्वमा युद्धको सन्त्रास: अमेरिकाद्वारा थप सैनिक परिचालन, इरानको विश्वव्यापी आक्रमणको धम्की
एजेन्सी, ८ चैत । मध्यपूर्वमा तीन हप्तादेखि जारी युद्धका कारण क्षेत्रीय तनाव उत्कर्षमा पुगेको छ । इरानले आफ्ना सैन्य गतिविधिलाई विश्वव्यापी पर्यटकीय र मनोरञ्जन स्थलहरूसम्म फैलाउने चेतावनी दिएपछि संयुक्त राज्य अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक दस्ता पठाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार भइरहेको बताए पनि वर्तमान स्थितिमा भने सैन्य उपस्थिति बलियो बनाइएको छ । यसको प्रत्यक्ष प्रभाव विश्व बजारमा देखिएको छ, जहाँ इन्धनको मूल्य वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा गिरावट आएको छ ।
इजरायलले शनिबार बिहान इरानबाट पुनः मिसाइल प्रहार भएको जानकारी दिएको छ । यस्तै, साउदी अरेबियाले आफ्नो मुख्य तेल प्रतिष्ठानहरू लक्षित गरी प्रहार गरिएका २० वटा ड्रोनलाई केही घण्टाभित्रै आकाशमै निष्कृय पारेको जनाएको छ । यी घटनाहरूमा हालसम्म कुनै मानवीय वा भौतिक क्षति नभएको बताइएको छ ।
इरानले छिमेकी खाडी मुलुकहरूमा दबाब बढाउँदै विश्वको लगभग २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक मार्ग ‘हर्मुज जलमार्ग’ मा आफ्नो नियन्त्रणलाई कडा बनाएको छ ।
इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले ‘नौरोज’ (फारसी नयाँ वर्ष) पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको दाबी गर्नुभएको छ । उहाँले इरानी जनताको दृढताको प्रशंसा गर्दै शत्रु पराजित हुने उल्लेख गर्नुभयो ।
यसैबीच, इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय स्थलहरू’ शत्रुका लागि सुरक्षित नहुने भन्दै मध्यपूर्व बाहिर पनि आक्रमण हुनसक्ने गम्भीर चेतावनी दिएका छन् । यसलाई इरानले आफ्नो सैन्य दायरा फराकिलो बनाउन खोजेको सङ्केतका रूपमा हेरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य नियन्त्रण गर्न अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ । यद्यपि, उत्पादनमा वृद्धि नभएका कारण तेलको आपूर्ति र मूल्यमा तत्काल ठूलो सुधार आउने सम्भावना न्यून देखिएको छ ।
जारी युद्धका कारण मानवीय सङ्कट गहिरिँदै गएको छ । तथ्याङ्कअनुसार हालसम्म इरानमा १ हजार ३०० भन्दा बढी, इजरायलमा १५ र पश्चिम बैंकमा ४ जना नागरिकको मृत्यु भएको छ । यस्तै, सैन्य मुठभेडका क्रममा अमेरिकी सेनाका कम्तीमा १३ सदस्यले ज्यान गुमाएका छन् । द्वन्द्व बढ्दै जाँदा क्षेत्रीय र विश्वव्यापी सुरक्षामा गम्भीर चुनौती थपिएको छ ।