नेपालमा नयाँ सरकार बन्ने तयारी गर्दै गर्दा भारत र चीनको दादागिरी, नेपाली भूमिबाट भारत–चीन सीमा व्यापार सुरु गर्ने तयारी

काठमाडौं, ८ चैत । फागुन २१ मा भएको निर्वाचनपछि करीब दुई–तिहाई नजिकको सरकार बन्ने तयारी भैरहेका बेला नेपालका दुई छिमेकी देश भारत र चीन सीमा व्यापार सुरु हुने खवरले एक पटक फेरि नेपाली जनतालाई झस्काएको छ ।

भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको लिपुलेक भञ्ज्याङबाट हुने भारत–चीन सीमा व्यापार सुरु गर्ने तयारी भारतले गरेपछि नेपाली जनतालाई झस्काइ दिएको हो । भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) को रिपोर्टअनुसार उक्त भूमि हुँदै दुई छिमेकी देशले सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन् । हाल भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ भने भारत र चीनले पटक–पटक धावा बोल्दै आएका छन् । यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको नेपालले विरोध गरेको थियो ।

भर्खरै निर्वाचन सम्पन्न भएको र नयाँ सरकार पनि नबनी सकेका बेला भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार सुरु हुन लागेको हो । त्यसो त भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुनः सुरु गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिएको भन्ने समेत समाचारहरु बाहिर आएका छन् ।

पिथौरागढका जिल्ला अधिकारीले केन्द्रीय सरकारको निर्देशनपछि जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापारिक सत्रका लागि आवश्यक तयारी सुरु भएको जानकारी दिएको भन्ने समाचारहरु विभिन्न सञ्चारमाध्ययममा छापिएका छन् । अगस्ट २०२५ मा भारत र चीन नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र रहेको लिपुलेख भञ्ज्याङ मार्फत सीमा व्यापार पुनः सुरु गर्न सहमत भएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा यो सहमति भएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबिचको भेटवार्तामा दुवै देश यसमा सहमत भएका थिए । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ९ मा सीमा व्यापार पुनः सुरु गर्ने उल्लेख गरेपछि नेपालले त्यसको विरोध गरेको थियो । सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो । दुई देशले गरेको सम्झौतामा ‘दुवै पक्षले तीनवटा तोकिएका व्यापारिक बिन्दुहरू अर्थात् लिपुलेख भञ्ज्याङ, शिपकी ला भञ्ज्याङ र नाथु ला भञ्ज्याङ मार्फत सीमा व्यापार पुनः सुरु गर्न सहमति जनाएका छन्’ भनी उल्लेख गरिएको थियो ।