सिंहदरबारको सुरक्षा प्रबन्ध र आगामी संसद् अधिवेशनको तयारी बारे गृह मन्त्रालयमा उच्चस्तरीय बैठक

काठमाडौँ,  चैत ८ । सिंहदरबारको समग्र सुरक्षा प्रबन्ध र आगामी महत्त्वपूर्ण कार्यक्रमहरूलाई व्यवस्थित बनाउने उद्देश्यले आज गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उक्त बैठकमा सुरक्षा तयारीका विविध पक्षबारे विस्तृत छलफल गरिएको छ ।

बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र मन्त्रालयका उच्चाधिकारीहरूको उपस्थिति रहेको थियो। मुख्यतया नवनिर्वाचित सङ्घीय सांसदहरूको शपथ ग्रहण समारोह, आगामी संसद् अधिवेशनको सञ्चालन तथा सिंहदरबार परिसरभित्रको आन्तरिक सुरक्षा व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

सो अवसरमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूको सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखी ट्राफिक व्यवस्थापन, सुरक्षा निकायको प्रभावकारी परिचालन र आवश्यक प्रशासनिक व्यवस्थापनमा आपसी समन्वय गर्न जोड दिनुभयो।

बैठकमा नेपाल प्रहरीका उच्च अधिकारीहरूले सुरक्षाका लागि आवश्यक सबै पूर्वतयारीहरू पुरा गरिएको र संवेदनशीलताका आधारमा सुरक्षा प्रबन्धलाई थप सुदृढ बनाइएको जानकारी गराउनुभएको थियो।