त्रिभुवन विमानस्थलमा गैरआवासीय र नेपाली मूलका विदेशीका लागि अलग्गै ‘डेस्क’ राखिने

काठमाडौँ, ९ चैत । विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब अलग्गै ‘डेस्क’ को व्यवस्था गरिने भएको छ । अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

विदेशमा रहेका नेपालीहरूको आफ्नो माटोप्रतिको आत्मीयतालाई कदर गर्न र नेपालमा पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय लिइएको विभागले जनाएको छ । यस व्यवस्थाले नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा हुने प्रक्रियामा सहजता हुने र उनीहरूलाई आफ्नो पुर्ख्यौली घरसँग जोड्न थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

विश्वभर रहेका नेपाली मूलका नागरिकहरूको संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) ले लामो समयदेखि यो माग राख्दै गृह प्रशासनको ध्यानाकर्षण गराउँदै आएको थियो । गृह मन्त्रालयले आइतबार यो निर्णय गरेपछि एएनओले यसको स्वागत गरेको छ ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रशासनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । “गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूले आफूलाई सम्मानित महसुस गरेका छन्,” विज्ञप्तिमा भनिएको छ, “यो व्यवस्थाको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्‍याउने हाम्रो विश्वास छ ।”

अध्यागमन विभागले यसअघि पनि विभिन्न मुलुकका नागरिकका लागि भिसा प्रक्रियामा सुधार गर्दै आएकोमा यो नयाँ डेस्कको व्यवस्थाले गैरआवासीय नेपालीहरूलाई विमानस्थलमा हुने झन्झटबाट मुक्त गराउने अपेक्षा गरिएको छ ।