चितवनका सातै स्थानीय तहमा बाख्रालाई ‘पिपिआर’ विरुद्धको खोप लगाइने

काठमाडौँ, चैत १० । चितवनका सातवटै स्थानीय तहमा आगामी चैत तेस्रो सातादेखि बाख्रालाई ‘पिपिआर’ विरुद्धको खोप लगाइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले यस वर्ष जिल्लाका करिब दुई लाख ५० हजार बाख्रालाई खोप लगाउने लक्ष्य निर्धारण गरेको छ । हाल जिल्लामा कुल तीन लाखको हाराहारीमा बाख्रा रहेका छन् ।

पशुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार ‘मोरडिली’ भाइरसका कारण लाग्ने यो रोग बाख्राका लागि निकै घातक मानिन्छ । यस रोगको सङ्क्रमण भएमा ५० देखि ९० प्रतिशतसम्म बाख्रा मर्ने जोखिम रहन्छ । सङ्क्रमित बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक र आँखाबाट तरल पदार्थ बग्ने, निमोनिया हुने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरू देखिन्छन् ।

डा. न्यौपानेले जानकारी दिए अनुसार यो रोगको लक्षण देखिएको ७ देखि १० दिनभित्र बाख्राको मृत्यु हुन सक्छ । यो भाइरस रोगी बाख्राको सिँगान, र्‍याल, आँसु तथा खोकी र हाच्छिउँ गर्दा हावाको माध्यमबाट स्वस्थ बाख्रामा सर्ने गर्दछ । साथै, दूषित दाना, पानी र सोत्तरको प्रयोगबाट पनि सङ्क्रमण फैलिने सम्भावना रहन्छ ।

विज्ञहरूले व्यावसायिक बाख्रापालन गर्ने किसानहरूलाई कडा जैविक सुरक्षा अपनाउन सुझाव दिएका छन् । रोग नियन्त्रणका लागि सङ्क्रमित बाख्रालाई बथानबाट छुट्टै राख्नुपर्ने र मरेका पशुलाई सुरक्षित रूपमा गाड्नु वा जलाउनुपर्ने हुन्छ ।

यस प्राणघातक रोगबाट बचाउन तीन महिना उमेर पुगेका स्वस्थ भेडा तथा बाख्रालाई प्रत्येक दुई वर्षमा खोप लगाउनु अनिवार्य हुन्छ । साथै, गोठमा नयाँ बाख्रा भित्र्याउँदा अनिवार्य रूपमा पिपिआर विरुद्धको खोप लगाएको सुनिश्चित गर्न र कम्तीमा तीन हप्तासम्म अलग (क्वारेन्टाइनमा) राखेर मात्र बथानमा मिसाउन पशु स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।