युद्ध अन्त्यका लागि वार्ता भइरहेको ट्रम्पको दाबी, इरान भन्छ– ‘भ्रामक समाचार’
एजेन्सी, १० चैत्र । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने विषयमा संयुक्त राज्य अमेरिका र इरानका अधिकारीहरूबाट परस्पर बाझिने भनाइहरू सार्वजनिक भएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच शान्ति वार्ता भइरहेको दाबी गरेका छन् भने इरानले त्यसलाई ठाडै अस्वीकार गर्दै ‘भ्रामक समाचार’ (फेक न्युज) को सङ्ज्ञा दिएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत तेहरानसँग “फलदायक छलफल” भइरहेको बताएका छन्। उनले वार्ता सकारात्मक दिशमा अघि बढेको भन्दै इरानको ऊर्जा र विद्युत् पूर्वाधारमाथि हुने भनिएको सैन्य कारबाही पाँच दिनका लागि स्थगित गरिएको घोषणा समेत गरेका छन्। उनले यो साताभरि गहन, विस्तृत र रचनात्मक छलफलले निरन्तरता पाउने दाबी गरेका छन्।
यद्यपि, इरानी अधिकारीहरूले ट्रम्पको यो दाबीलाई पूर्ण रूपमा खण्डन गरेका छन्। इरानी संसद्का सभामुख मुहम्मद-बागेर गलिबाफले ‘एक्स’ मा लेख्दै अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेका छन्।
उनले भनेका छन्, “अमेरिकासँग कुनै वार्ता गरिएको छैन। अमेरिका र इजरायल आफू फसेको दलदलबाट उम्कन र विश्वको तेल तथा वित्तीय बजारलाई प्रभावित पार्न यस्तो भ्रामक समाचार फैलाइरहेका छन्।”
ट्रम्पले इरानमाथिको हमला स्थगित गरी शान्ति सम्झौता हुन सक्ने सङ्केत गरेपछि सोमबार विश्वबजारमा कच्चा तेलको मूल्य घटेको थियो। तर, इरानको खण्डनपछि ब्रेन्ट क्रुडको मूल्य बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ।
यसैबीच, टेनेसी राज्यमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका इरानसँग ‘बृहत् सम्झौता’ गर्ने सम्भावनामा केन्द्रित रहेको बताए। “हामी इरानसँग लामो समयदेखि छलफल गरिरहेका छौँ, यस पटक उनीहरू वास्तवमै गम्भीर छन्,” ट्रम्पले भने।
उनले इरान परमाणु अस्त्र नराख्ने विषयमा सहमत भएको आफूलाई लागेको पनि बताए। युद्ध सुरु भएयता इरानको उच्च नेतृत्वले ज्यान गुमाएको स्मरण गराउँदै ट्रम्पले इरानसँग शान्तिका निम्ति “एउटा अर्को अवसर” रहेको बताए। तर, अमेरिकाले इरानको कुन निकाय वा अधिकारीसँग वार्ता गरिरहेको छ भन्ने उनले खुलाएका छैनन्।
एकातिर शान्ति वार्ताको दाबी भइरहँदा मध्यपूर्वको अवस्था भने अझै तनावपूर्ण छ। इरानको राजधानी तेहरानमा हवाई आक्रमणका विवरणहरू आएका छन् भने त्यहाँको हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ।